एसवाई प्यानलले असोज ७ गतेदेखि आईपीओ निष्काशन गर्दै

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

भदौ २९ गतेदेखि आईपीओ निष्काशनको तयारीमा रहेको यस कम्पनीले विषम परिस्थितिका कारण असोज ७ गतेदेखि निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये २ प्रतिशत अर्थात २ करोड ६१ लाख ६२ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका २ लाख ६१ हजार ६२९ कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । सो सेयरमा चितवन जिल्ला रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाहरुका स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ४ करोड ९७ लाख ९ हजार २०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ४ लाख ९७ हजार ९२ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले आफ्ना कर्मचारीहरुका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता सेयर सुरक्षित गरेको छ। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले एसवाई प्यानल नेपाल, रत्ननगर, चितवन, प्रभु क्यापिटल, कमलादी र क्यापिटलले निर्माण गरेको अनलाइन लिंकमा गई आवेदन दिन सक्नेछन् । यसका साथै प्रभु बैंकको सौराहा र टाँडी शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार