
तनहुँ । तनहुँको भानु नगरपालिका–७ स्थित प्रसिद्ध धार्मिकस्थल थानीमाई मन्दिरमा आज एकैदिन ८६ वटा फूलको डोली भित्रिएका छन् ।तनहुँबाट ३५, लमजुङबाट २५, गोरखाबाट १२, चितवनबाट आठ, पोखराबाट चार, नवलपरासी र काठमाडौँबाट एक/एक गरी ८६ फूलका डोली भित्र्याइएको हो ।
मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले सोमबार सत्यनारायणको पूजा गरी तयार गरिएका फूलका डोली मन्दिरमा चढाउने परम्परा रहेको जानकारी दिए । ‘सात सय जना भक्तजनले रातभर जाग्राम बसेर बत्ती बालेका छन् भने आठ हजार ८७७ जनाले दर्शन गरेका छन् । विसं २०७२ मा एकैदिन एक सय १५ वटा डोली भित्र्याइएको थियो । त्यसपछि आजकै दिन धेरै फूलको डोली आएको हो ।’
कात्तिकको पहिलो मङ्गलबार औँशी परेकाले फूलको डोली भित्र्याइएको हो । यहाँ एकादशी, औँशी, सोह्रश्राद्ध र साउन महिनाभर मन्दिरको ढोका खोलिदैन । विशेष गरी कात्तिक र माघ महिनामा यहाँ ठूलो मेला लाग्ने र अन्य महिनामा भने सामान्य हुने गरेको सो समितिले जनाएको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ देशका विभिन्न ठाउँबाट भक्तजन पूजाअर्चनाका लागि यहाँ आउने गर्दछन् ।
भक्तजनले फूलको डोली र पञ्चेबाजासहित थानीमाई मन्दिरमा नाचगान गर्दै तीन पटक परिक्रमा गर्छन् । परिक्रमापछि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ भने त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो भाकल पूरा भएको भन्दै पूजा गर्ने गरिन्छ । आज मन्दिरमा फूलको डोली चढाउनेको भीड लागेको थियो । भक्तजनले चढाएको भेटी र दान गरी आज मात्र करिब रु ९० हजार सङ्कलन भएको मन्दिर संरक्षण समितिका सचिव हर्कबहादुर थापाले बताए ।
हाल मन्दिरसम्म पुग्ने सडक निर्माण गरिएकाले भक्तजनको सङ्ख्या पनि बढ्न थालेको छ । यस्तै, समुद्री सतहबाट एक हजार २०० मिटरको उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मीबजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमशृङ्खला देख्न पाइने भएकाले पनि आकर्षण बढ्दै गएको छ ।













समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक