
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने योजना स्थापनाको आठ वर्षसम्म जग्गा प्राप्ति प्रक्रियामै अल्झिएको छ । तीव्र रूपमा बस्ती विकास भइरहेको पालिकाको केन्द्र बाबियाचौरमा मापदण्ड पुग्ने जग्गा निःशुल्क दिन नसक्नु, सरकारी दररेटअनुसार उपलब्ध गराउन रुचि नदेखाउनु, विवाद, समन्वयको कमी र मुद्दाका कारण जग्गा प्राप्ति सकसपूर्ण बनेको हो ।
स्थानीयवासीबाट निःशुल्क जग्गा प्राप्त हुन नसकेपछि गाउँपालिकाले मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले जग्गा खरिद गरेर भवन बनाउन अनुमति दिएको छ । पछिल्लो तीन आर्थिक वर्षमा जग्गा खरिद गर्न वार्षिक रु एक करोडका दरले विनियोजन भएको बजेट कार्यान्वयन हुनसकेको छैन ।
आफ्नै भवन नहुँदा सेवा प्रवाहमा कठिनाइ र भाडामा वार्षिक लाखौँ बजेट खर्चनुपरेको छ । भाडाको घरमा रहेका साँघुरा कोठामा काम गर्न अप्ठ्यारो भएको प्रशासन शाखाका प्रमुुख सुर्दशन पौडेलले जानकारी दिए । कार्यालय सञ्चालनका लागि गाउँपालिकाले मासिक रु ६७ हजार ५०० घरभाडामा खर्च गर्दै आएको छ ।
माटेबगरमा रहेको कृषि उपज सङ्कलन केन्द्रको भवन मर्मत गरेर गत वर्षदेखि कृषि र पशुु सेवा शाखा सञ्चालन भएको छ । स्थापनाको तीन वर्ष साविक बाबियाचौर गाविसको भवनमा रहेको गाउँपालिकाको कार्यालय २०७८ सालमा भाडाका घरमा सारिएको थियो । गाउँपालिका सरेपछि उक्त भवनमा वडा नं २ को कार्यालय सञ्चालन भएको छ ।
मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले स्थापनाकालदेखि नै जग्गा खोजे पनि विभिन्न कारणले नपाएको बताए । “मापदण्डअनुसारको छ रोपनी जग्गा नभएसम्म भवन बनाउन सङ्घीय सरकारले अनुदान दिँदैन”, उनले भने, “निःशुल्क जग्गा नपाएपछि खरिद गर्ने प्रक्रिया अघि बढाए पनि पाइएको छैन । प्रयास गरिरहेका छौँ ।” निःशुल्क र खरिद गर्ने जग्गा नभएपछि माटेबगरस्थित सार्वजनिक जग्गा प्राप्तिको प्रक्रिया अघि बढाउने तयारी गरेको अध्यक्ष रोकाले बताए । जग्गा प्राप्ति प्रक्रियामा बाबियाचौरका समुदाय र राजनीतिक दलहरूबाट सहयोग नपाएको उनले गुनासो गरे ।
छवटा स्थानीय तह रहेको म्याग्दीमा मङ्गलासहित अन्नपूर्ण र मालिका गाउँपालिकाले भवन निर्माणका लागि जग्गा प्राप्तिमा अल्झिएका छन् । धवलागिरि गाउँपालिकाले घट्टेखोलामा स्थानीयवासीले उपलब्ध गराएको जग्गामा भवन निर्माण अन्तिम चरणमा पुर्याएको छ । रघुगङ्गा गाउँपालिकाले पनि स्थानीयवासीसँग समन्वय गरेर पालिकाको केन्द्र मौवाफाँटमा जग्गा व्यवस्थापन गरेर गत आर्थिक वर्षदेखि भवन निर्माण सुरु गरेको छ । सदरमुुकाम अवस्थित बेनी नगरपालिकाले साविक अर्थुङ्गे गाविस, भूसंरक्षण कार्यालयको भवन तथा परराष्ट्र मन्त्रालयको नाममा रहेको जग्गामा भवन बनाएर कार्यालय सञ्चालन गरेको छ ।













समाचार
‘विद्यमान कानुनबाट नै निजी क्षेत्रलाई पावर ट्रेडिङको लाइसेन्स दिन सम्भव’
सिरुबारी पहिरोः बेनी-जोमसोम सडकको मुख्य चुनौती
ईभीमा प्रयोग हुने ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन, पुनःप्रयोग र रिसाइक्लिङका लागि स्पष्ट तथा व्यवस्थित प्रणाली आवश्यक : सरोकारवालाहरु
नाइमा एक्स्पोमा बढ्दो भीड, शनिबार र आइतबार व्यवस्थापनमा विशेष तयारी
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
एनसेलसँग सम्वन्धित प्रतिवेदन सार्वजनिक नगर्न र क्रियान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
महानगर प्रमुख आचार्यसँग रसियन दूतावासका प्रतिनिधिको भेट
पाँचतारे होटललाई ग्यास कालोबजारीको आरोप लगाएको भन्दै हानको आपत्ति
‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’