
रामेछाप । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको सक्रियता बढेको छ । जुनार बिक्रीका साथै गर्मीका लागि स्क्वास (प्रशोधनबाट तयार गरिएको पेयपदार्थ) बनाएर भण्डार गर्न किसान जुटेका छन् । जुनारको जिल्ला भनेर चिनिने रामेछापमा यस वर्ष फलेका पर्याप्त उत्पादन भएपछि किसान उत्साहित भएका हुन् ।
यो वर्ष जुनारका लागि उचित हावापानी भएकाले विगतको तुलनामा उत्पादन बढेको स्थानीय कृषक बताउँछन् । पन्ध्र रोपनी जग्गामा लगाएको करिब ३०० बोटमा फलेका जुनार बिक्रीबाट रु तीन लाख आम्दानी हुने अपेक्षा गरिएको रामेछाप नगरपालिक–७ का कृषक रामकुमार कार्कीले बताए ।
उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष जुनारका दाना केही साना भए पनि उत्पादन बढेको छ । बगैंचाबाटै प्रतिकिलो ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ, बजारका लागि समस्या छैन ।’ कम मेहनत र लगानीमा मनग्गे उत्पादन हुने भएकाले जुनारखेतीबाट आफूहरू सन्तुष्ट रहेको रामेछाप–७ कृषक ज्ञानुदेवी बस्नेतले बताइन् । उनले भनिन्, ‘यो खेतीबाट हामी सन्तुष्ट छौं । एउटा साधारण बगैंचामा उत्पादित फल बेच्यो भने रु दुईदेखि तीन लाख आम्दानी हुन्छ ।’
करिब १८ रोपनी जग्गामा व्यावसायिक रूपमा जुनार खेती गर्दै आएका रामेछाप– ६ ओख्रेनीका हिमाल तामाङले उत्पादन बढेको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘मैले गत वर्ष काठमाडौंका व्यापारीलाई बगैंचाबाट प्रतिकिलो ७५ देखि ८० मा बिक्री गरेर करिब तीन लाख ८८ हजार आम्दानी गरेको थिएँ । यहाँ तीन सय बोट छन्, त्यसमध्ये २५० बोटले उत्पादन दिइरहेका छन् भने ५० बोट हुर्किँदै छन् ।’ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापले जिल्लाको मन्थली नगरपालिका, रामेछाप नगरपालिका र लिखु तामाकोशी गाँउपालिकालाई जुनार जोनका रूपमा विस्तार गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ५८० हेक्टरमा खेती भए पनि चालु आवमा लिखु तामाकोशी गाउँपालिकाका विभिन्न वडामा १०० हेक्टर क्षेत्रफल थपिएको इकाईकी नायब प्राविधिक सहायक भवानी बस्नेतले जानकारी दिइन् । क्षेत्रफल थपिएकाले गत वर्षको तुलनामा यस वर्ष जुनारको उत्पादन बढ्ने अनुमान गरिएको उनले बताइन् ।
यसैबीच, मन्थली डिलक्स एग्रो फरेष्ट्री प्रालिले गर्मीको सिजनमा जुस बनाएर बिक्री गर्ने उद्देश्यले गाउँमा जुनार खरिद गरी ग्रेडिङ गर्ने, ताछ्ने र रस बनाएर भण्डारण गर्ने काम शुरू गरेको छ । गाउँका किसानले उत्पादन गरेका जुनार गाउँमै खरिद गर्ने, गाउँलेलाई रोजगारी दिने र त्यसलाई पेलेर भण्डारण गरी गर्मी सिजनमा स्क्वास बनाएर बिक्री गर्न आफूले पहल थालेको प्रालिका सञ्चालक लोकेन्द्र श्रेष्ठले बताए ।
गाउँमा जुनार, सुन्तलालगायत फलफूल खेती गर्ने युवालाई स्थानीय तहले अनुदानका कार्यक्रम सञ्चालन गरी सीप विकासमा तालिमको व्यवस्था गरेमा वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्यामा कमी आउने उनको भनाइ छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह