
महोत्तरी । महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने बेला घर्कंदै गर्दा खुट्टी (दोस्रो वर्षको बाली) उखु काटेर चिनी उद्योगमा पुर्याउन र पेलेर सख्खर बनाउन किसानलाई धपेडी परेको हो ।
भङ्गाहा–४ प्रेमनगरका किसान रामविलास महतोले पुस तेस्रो साताभित्र चैतेबाली लगाइसक्नुपर्ने भएकाले आफूहरू त्यसैमा लागेको बताए। उनले भने, ‘समयको चाप छ, त्यसैले हाल मुटु कँपाउने जाडो पनि नभनी उखुको काममा जोतिनुपरेको छ ।’ यता एक पटक लगाइएको उखु खेतीबाट दुई वर्ष बाली लिइन्छ । पहिलो वर्षको बालीलाई ‘मुडन’ र दोस्रो वर्षकोलाई ‘खुट्टी’ भनिन्छ । हाल खुट्टी उखु भएको जग्गामा तत्काल चैते (चैती) बाली लगाउनुपर्ने बाध्यता छ ।
‘गहुँ त पुस २२ सम्म लगाइसक्नुपर्छ, वैशाखी (चैत र वैशाखमा उत्पादन लिइने) तरकारी पनि ढिलोमा पुसभरिमा लगाइसक्नुपर्छ’, बर्दिबास–७ चौखिका किसान जगन्नाथ महतोले भने, ‘उखु व्यवस्थापन नगरी चैतेबाली नलाग्ने हुँदा हाल हामीलाई सास फेर्ने फुर्सतसमेत नभएको अवस्था छ ।’ जिल्लाको उत्तरी क्षेत्रको जग्गा चाँडै रुखो हुने हुँदा पुस महिनाभित्रै बाली लगाउन नपाए छ महिना बाँझो पर्ने चिन्ताले किसान दिनरात नभनी उखु व्यवस्थापन लागेका उनले बताए। जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले गत सोमबारदेखि उखु ‘क्रसिङ’ सुरु गरिसकेको छ । हाल किसानले धमाधम उद्योगमा उखु पुर्याइरहेका छन् । कतिपयले घरआँगनमै उखु पेलेर सख्खर बनाउन थालेका छन् ।
गौशाला–१२ कालीपुरका किसान भोगेन्द्र महतोले भने,’मुडन उखु त झण्डै चैतसम्मै काट्दा पनि हुन्छ, खुट्टी काट्ने समय भने बितिसक्यो । खुट्टी उखु काटेरमात्र नभइ त्यसलाई पेल्ने र सख्खर बनाउनेसम्मको चाँजो सँगसँगै गर्नुपर्ने हुँदा भ्याइनभ्याइ परेको छ ।’ जिल्लामा यसपालि नौ हजार ६०० बिघामा रहेको उखुखेतीमध्ये पाँच हजार बिघामा खुट्टी छ । उखु उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले मङ्सिर १५ भित्रै खुट्टी उखु कटान गर्न चिनी उद्योग सञ्चालन हुन पर्नेमा त्यसमा ढिलाइ हुँदा किसानलाई केही धपेडी परेको बताए।
‘हामीले सरकारलाई प्रत्येक वर्ष कात्तिक १५ भित्र चिनी उद्योग, उखु उत्पादक किसानका प्रतिनिधि र सरकारबीचको सहमतिमा उखुको मूल्य निर्धारण र मङ्सिर १५ बाट क्रसिङ सञ्चालन हुनुपर्ने माग राख्दैआएका छौँ’, उनले भने,’सोअनुसार तालिका कार्यान्वयन नहुँदा किसानलाई कठिनाइ भइरहेको छ ।’
सरकारले यसपालि निकै ढिलो गरी मङ्सिर २२ मा मात्र उखुको मूल्य निर्धारण गरेको थियो । आगामी वर्ष समयमै तालिका कार्यान्वयन गर्न सरोकार भएकाहरू सबै हालैदेखि लाग्नुपर्ने अध्यक्ष कुशवाहाको भनाइ छ ।













समाचार
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक
सेयर बजारको गिरावटमा लागेन ब्रेक, परिसूचक ७ अंकले घट्दा ४ अर्बको कारोबार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने