
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) अनिवार्य गराउनेगरी काम गर्न सूचना प्रविधि विभागलाई निर्देशन दिएका छन् ।
सञ्चार मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले मन्त्रालयको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन सबै मन्त्रालय र निकायलाई कागजरहित बनाउनुपर्नेमा जोड दिए ।
सञ्चारमन्त्री खरेलले भने, “अहिलेकै कार्यकालमा जिआइओएमएसलाई हरेक मन्त्रालयमा अनिवार्य गराउनेगरी काम गर्न आग्रह गर्दछु, यसले सेवा प्रभावकारिता र सुशासन कायम गर्न मद्दत गर्नेछ ।” उनले सुशासनसहित मुलुकको विकास र आर्थिक समृद्धिका लागि सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने भएकाले विभागलाई नीतिगत र संरचनागत सुधार गरिनुपर्नेमा जोड दिए ।
हाल अर्थ मन्त्रालय र सञ्चार मन्त्रालयले जिआइओएमएस लागू गरिसकेका छन् । सरकारी निकायबाट सम्पादन हुने कार्यलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी सम्पादन गरी कागजरहित बनाउने सरकारको अवधारणालाई कार्यान्वयन गर्न यो प्रणाली सुरु गरिएको जनाइएको छ ।
सूचना प्रविधि विभागद्वारा विकास गरिएको यो प्रणाली प्रयोगगरी विद्युतीयमाध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापनलगायत अनिवार्य रुपमा विद्युतीय हस्ताक्षरको प्रयोग गरी सम्पादन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्रीमन्त्री खरेलले निर्धारित मितिमा निर्वाचन हुने र त्यसपछि बन्ने संसद् र सरकारमा युवाको वर्चश्व हुने भएकाले मुलुकको सूचना प्रविधि क्षेत्रको विकासका निम्ति महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले विभागको कामलाई बढी प्रविधिमैत्री एवं सेवालाई चुस्त र प्रभावकारी बनाउन आग्रह गरिन् । सूचना प्रविधि विभागका महानिर्देशक श्री चन्द्र साहले विभागलाई नीतिगत र संरचनागत सुधार गरी सेवालाई प्रविधिमैत्री बनाइने विश्वास व्यक्त गरे ।













समाचार
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर