
भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेका किसानले व्यावसायिक स्याउ खेती सुरु गरेका छन् । वडाले स्याउ खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि स्थानीय किसान सङ्गठित रूपमै यसतर्फ आकर्षित भएका हुन् ।
बाक्पा, भामला, माथिल्लो छापगाउँको दिङ्ला र चोक्ताङ क्षेत्रमा करिब एक हजार उन्नत जातका स्याउका बिरुवा विस्तार गरिएको छ । सोलुखुम्बुबाट ल्याइएका कलमी बिरुवा किसानलाई वितरण गरिएको हो । गत वर्ष साम्के र तामालुङ गाउँमा मात्रै १०० रोपनीभन्दा बढी क्षेत्रफलमा करिब एक हजार ८०० बिरुवा रोपिएको थियो ।
स्थानीयवासी पाण्डव राईका अनुसार साम्के र तामालुङका ३६ जना किसानले १०० रोपनी क्षेत्रफलमा स्याउ खेती विस्तार गरेका छन् । वडाको ५० प्रतिशत लागत साझेदारी अनुदानले किसानलाई हौसला मिलेको उनले बताए । “हामी अहिले व्यावसायिक स्याउ खेतीमा जुटेका छौँ,” राईले भने, “वडाले खेती विस्तारका लागि आवश्यक अनुदान सहयोग गर्दै आएको छ ।”
वडाध्यक्ष एकराज आचार्यका अनुसार वडाभित्रको कृषियोग्य जमिनमा भूगोल र माटो सुहाउँदो खेती प्रणाली अवलम्बन गर्न विशेष जोड दिइएको छ । स्याउ उत्पादनका लागि उपयुक्त क्षेत्र पहिचान गरी किसानलाई व्यावसायिक खेतीमा प्रोत्साहन गर्ने योजना अघि बढाइएको उनले जानकारी दिए । “हामीले स्याउ खेती विस्तार कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ,” वडाध्यक्ष आचार्यले भने, “यहाँको माटो र हावापानी स्याउ उत्पादनका लागि उपयुक्त देखिएको छ । यस क्षेत्रलाई स्याउको नमुना क्षेत्रका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।”
यसअघि पनि वडाले व्यावसायिक सुन्तला खेती प्रवर्द्धनका लागि नर्सरी स्थापना गरेको थियो । स्थानीय हावापानीमा उत्पादन भएका बिरुवा किसानलाई उपलब्ध गराउने उद्देश्यले नर्सरी सञ्चालन गरिएको वडाको भनाइ छ ।













समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै