
काठमाडौं । सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउने र विदेशबाट आयात भएको सामान छुटाउन सकिने भएको छ । गोश्वारा हुलाक कार्यालय डिल्लीबजारले यसअघि पनि सार्वजनिक बिदाका दिन सेवा दिँदै आएको भए पनि त्यहाँस्थित भन्सार कार्यालय र बैंक नखुल्दा भन्सार जाँचपासमा समस्या हुने गरेको थियो ।
अन्तरनिकाय समन्वय अभावमा सेवा प्रभावित भइरहेकोबारे गुनासो आउन थालेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत चासो देखाएको थियो । सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले भन्सार विभागसँग समन्वय गरेर सार्वजनिक बिदाको दिन पनि सजिलै सेवा दिन सकिने व्यवस्था मिलाउन प्रक्रिया थालेको हो ।
“मालसामान हुलाक गर्न वा अन्तररास्ट्रिय कुरियर सेवाका लागि गोश्वारा हुलाक कार्यालयले सार्वजनिक बिदाको दिनमा सेवा दिने गरेको छ । तर त्यहाँ रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयको शाखा सार्वजनिक बिदामा नखुल्दा जाँचपासमा समस्या थियो”, हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले भने, “यो समस्या समाधानका लागि हामीले भन्सार विभागसँग मौखिक र पत्राचारबाट समेत जानकारी गराइसकेका छौँ ।”
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले पनि गोश्वारा हुलाक कार्यालयस्थित भन्सार शाखालाई सार्वजनिक बिदाको दिनसमेत सेवा सञ्चालन गर्ने प्रबन्ध मिलाउन लागिएको बताए । त्यस्तै, राजस्व भुक्तानीका लागि त्यहाँस्थित बैंक शाखाले पनि आफ्नो सेवाहरू सुचारु राख्ने तयारी थालिएको छ । राष्ट्रिय वाणिज्य बैंकको शाखा सार्वजनिक बिदामा पनि खुला राख्न पहल भइरहेको हो ।
गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट गत फागुन महिनामा मात्र १९ हजार २०० भन्दा बढी पुलिन्दा, पार्सल, साना प्याकेट, साधारण चिट्ठी, रजिस्ट्री चिट्ठी, बुक पोस्टलगायत वस्तु विदेशबाट आएका थिए ।
त्यस्तै, निर्यात भएका यस्ता वस्तुको संख्या ११ हजार ७०० हाराहारी छ । जसबाट रु २९ लाख चार हजार हाराहारी भन्सार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । सार्वजनिक बिदाको दिन कार्यालय सञ्चालन गर्दा नागरिकले सहज सेवा पाउनेमात्र नभई कार्यालयको व्यवसाय र नतिजा प्राप्ति दुवैमा सकारात्मक प्रभाव देखिने अपेक्षा गरिएको छ ।













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने