
काठमाडौं । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ ले आजदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ । २०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो । आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ ।
आयोगका नवनियुक्त अध्यक्ष भण्डारीले बुधबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे भने अन्य सदस्यहरू तत्कालीन पुनरावेदन अदालतका पूर्व मुख्यन्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड अकाउण्टेन्ट प्रकाश लम्साललाई अध्यक्ष भण्डारीले शपथ गराएका हुन् ।
जाँचबुझ ऐन २०२६ बमोजिम कार्यसम्पादन गर्ने जिम्मेवारी पाएको यस आयोगको कार्यसम्पादन सर्त (टीओआर) समेत स्वीकृत भइसकेको छ । एक वर्षको कार्यकाल तोकिएको यस आयोगले सार्वजनिक पदमा रहेका, सेवानिवृत्त भएका वा पदबाट हटिसकेका पदाधिकारी र तिनका परिवारको नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण संकलन गरी सूक्ष्म जाँचबुझ गर्नेछ ।
आयोगले कुनै पनि व्यक्तिको अनुसन्धान सम्पन्न हुनासाथ प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्नुपर्ने प्रावधान रहेको छ, जसलाई सरकारले ४५ दिनभित्र अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्नेछ । आयोगले पूर्ण रूपमा स्वतन्त्र, निष्पक्ष र व्यावसायिक ढङ्गले कार्य गर्ने प्रतिबद्धता जनाउँदै कसैको दबाब वा प्रभावमा नपरी जिम्मेवारी पूरा गर्नुपर्नेछ । आयोगले लिखित, मौखिक, विद्युतीय माध्यम, सामाजिक सञ्जाल वा अन्य जुनसुकै माध्यमबाट पनि उजुरी संकलन गर्नेछ ।
कार्यसम्पादनको सिलसिलामा आयोगले आवश्यकतानुसार विभिन्न क्षेत्रका विज्ञहरूको सल्लाह लिनसक्ने प्रावधान राखिएको भएता पनि स्वार्थको द्वन्द्व भएका विज्ञहरूलाई भने आमन्त्रण गर्न नपाइने कडा सर्त तय गरिएको छ । आयोगको गठन २०८२ चैत १३ को मन्त्रिपरिषद् बैठकबाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीहरु’ को बुँदा नम्बर ४३ मा उल्लिखित भ्रष्टाचारविरोधी प्रतिबद्धताअनुरुप भएको हो । हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोगका लागि आवश्यक ३२ जना कर्मचारीको छनोट (स्क्रिनिङ) गरिरहेको छ ।
आयोगको कामलाई पारदर्शी बनाउन त्यहाँ खटिने कर्मचारीहरूले समेत कार्यभार सम्हालेको एक साताभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।













समाचार
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
नेपालमा निसानको नयाँ एसयूभी टेकटन लन्च, मूल्य ५१ लाख २९ हजार रुपैयाँ
महिन्द्राको नयाँ पुस्ताको एसयूभी नाइमा एक्स्पोमा, एक्सइभी९ एसको सुरुवाती मूल्य ६० लाख
नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु: ह्युन्डाई, एमजी र कियाका नयाँ मोडल सार्वजनिक
एकल वा दम्पत्ति भएमा १० लाख देखि ६० लाखसम्म कमाँउदा तपाईले कति तिर्ने आयकर ?
चितवनमा निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन-२०८३ हुने
क्रिप्टोकरेन्सीमा गिरावटपछि डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनी लाई २३ करोड ८० लाख डलर घाटा
नेपालमा एक दशकभित्र देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्य
गर्भनरसँगको भेट पछि मिस नेपाल ढकालले भनिन् : जीवनभन्दा ठूलो ऋण होइन
झापा इनर्जीको विद्युत उत्पादन पुनः सुचारु