
म्याग्दी । पर्यटकलाई आकर्षित गर्न यहाँको बेनी नगरपालिका–३ भकिम्लीको बाघखोरमा पार्क निर्माण गरिएको छ । भकिम्लीको मुसुङ र भुकभुके टोलको शिर, स्वर्गाश्रम र बेलढुङ्गाको फेदीमा प्रयोगविहीन अवस्थामा रहेको सार्वजनिक पाखोलाई संरक्षण र व्यवस्थापन गरेर पार्क बनाइएको हो ।
बेनी नगरपालिका र दाताको सहयोग तथा स्थानीयवासीको श्रमदान जुटाएर पर्यटकका लागि आश्रयस्थल भवन, वनभोज स्थल र बाघको प्रतिमा भएको पार्क निर्माण गरेको बेनी नगरपालिका–३ का वडाअध्यक्ष पदम पुनले जानकारी दिए । “आर्थिक वर्ष २०७६र७७ मा वडाको प्रस्तावमा बेनी नगरपालिकाले एक लाख रुपैयाँ बजेट विनियोजन गरेर सुरु भएको पार्क निर्माण योजनाका लागि हरेक वर्ष बजेट विनियोजन गर्दै आएका छौँ,” उनले भने, “यसपालि विनियोजन भएको तीन लाख रुपैयाँ बजेटबाट वनभोज स्थलका लागि आवश्यक सामग्री खरिद र घेराबार गरेर पूर्णता दिने तयारीमा छौँ ।”
पार्क निर्माणमा नगरपालिका र समुदायको १० लाख रुपैयाँ भन्दा बढी खर्च भएको वडाअध्यक्ष पुनले बताए । समुन्द्री सतहदेखि करिब दुई हजार २५० मिटर उचाइमा अवस्थित बाघखोरमा पार्क बनाउन बराहताल सामुदायिक वन क्षेत्रमा पर्ने आठ रोपनी जग्गालाई घेराबार गरिएको छ । दुई वटा भवन, सार्वजनिक शौचालय निर्माण भएको पार्कमा खानेपानीको व्यवस्था पनि मिलाइएको निर्माण समितिका अध्यक्ष पृथीप्रसाद पुनले बताए । तीन लाख ५० हजार रुपैयाँ खर्च गरेर बाघको प्रतिमा राखिएको छ । स्थानीय दिलमती र सञ्जय सुनारले पानको पात अङ्कित स्तम्भ बनाउनुभएको छ । धनलाल जैसीको सहयोगमा कालिका र मालिका देवीको मन्दिर निर्माण भएको छ ।
मुसुङ र भुकभुकेदेखि स्वर्गाश्रम जाने पदमार्ग र सडकको छेउमा अवस्थित बाघखोरबाट धौलागिरि, अन्नपूर्ण, गुर्जा हिमशृङ्खला, सूर्योदय, नागबेली परेर बगेको म्याग्दी नदी र म्याग्दीका विभिन्न ग्रामीण बस्तीहरूको दृश्यावलोकन गर्न सकिन्छ ।
नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको स्वर्गाश्रम र बेलढुङ्गा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको बसाइ लम्बाउने उद्देश्यले बाघखोरमा पार्क बनाएको निर्माण समितिका अध्यक्ष पुनले बताए । उनका अनुसार परापुर्वकालमा यहाँ बाघलाई पासोमा पार्न खोर राखिएकाले बाघखोर नामाकरण भएको किंवदन्ती छ ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो