
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले सुनसरीको कप्तानगन्न घटनापछि उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति कायम राख्न सबैमा अपिल गरेको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले आज एक अपिल जारी गरी नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशेषता बोकेको मुलुक भएकाले सामाजिक, सांस्कृतिक तथा धार्मिक उत्सवहरू मनाउँदा एकअर्काको भावना र शान्तिमा खलल नपुग्ने गरी मर्यादित व्यवहार गर्न आग्रह गरिएको छ । साथै सामाजिक सञ्जालमा अफवाह, घृणायुक्त अभिव्यक्ति वा भ्रामक सामग्री पोस्ट वा साझा गरेर समाजमा वैमनस्य फैलाउने कार्य नगर्न पनि अनुरोध गरिएको छ ।
प्रदेश सरकारले कानुन हातमा लिने, सामाजिक सद्भाव भड्काउने तथा अराजकता फैलाउने गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन राज्यका निकाय सक्रिय रहेको जनाएको छ । प्रदेशका नागरिकलाई संयमता अपनाई कुनै गतिविधि गर्नु परे स्थानीय तह, प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्न पनि आग्रह गरिएको छ ।
सुनसरी घटनाको सम्भावित प्रभावलाई दृष्टिगत गर्दै खुला सीमाका कारण हुन सक्ने घूसपैठ तथा अवाञ्छित गतिविधि रोक्न सुदूरपश्चिमका सीमा क्षेत्रमा विशेष सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिइएको पनि अपिलमा उल्लेख छ । प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई पूर्ण तयारी अवस्थामा रही सुरक्षा व्यवस्था चुस्त बनाउनसमेत निर्देशन दिइएको जनाइएको छ ।
यस्तै, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट समाजमा उत्तेजना, घृणा र वैमनस्य फैलाउने गरी सार्वजनिक अफवाह र गलत सूचना प्रवाह गर्ने जो–कोहीलाई कडा कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ । साथै सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई पनि सामाजिक सद्भावमा आँच आउने खालका सामग्री प्रसारण नगरी सत्य, तथ्य र वस्तुनिष्ठ समाचार मात्रै सम्प्रेषण गर्न आग्रह गरिएको छ ।
“शान्ति, सुरक्षा, सामाजिक एकता, धार्मिक सहिष्णुता र पारस्परिक भाइचारा कायम राख्न सरकार, राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, उद्योगी–व्यवसायी, सामाजिक संस्था, सञ्चारमाध्यम र आमनागरिक सबैको सहकार्य आवश्यक छ । त्यसका लागि सामाजिक एकता थप बलियो बनाउने कार्यमा योगदान गर्न सबैमा आह्वान गर्दछु,” विज्ञप्तिमा भनिएको छ ।
सुनसरीमा र अन्य जिल्लामा प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।













समाचार
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु