सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड

काठमाडौं । यो साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेर बन्द भएको छ । गत साता २६८५.५४ विन्दुमा बन्द भएको नेप्से, यस साता १.३२ प्रतिशत अर्थात ३५.४५ अंक घटेर २६५०.०९ विन्दुमा बन्द भएको हो ।

यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये चार कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन बढेर कारोबार भएको थियो । यो साता सेन्सेटिभ इण्डेक्स ६.५७ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.८० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५८ अंक घटेको छ ।

नेप्सेसँगै यस साता कारोबार रकममा पनि केही कमी आएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १.०५ प्रतिशत घटेको हो । गत साता दैनिक औषतमा ४ अर्ब ३३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब २९ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

त्यस्तै, यो हप्ता दैनिक औषत सेयर संख्या ५.६९ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ७.४२ प्रतिशत बढेको छ । यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब साढे १ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब १५ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यो हप्ताको अन्तिम दिनसम्म आइपुग्दा ६० अर्ब रुपैयाँ घटेर ४५ खर्ब ५४ अर्ब रुपैयाँमा सीमित भएको छ ।
यो हप्ता १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस साता जलविद्युत उपसमूहको परिसूचक ०.३८ प्रतिशत बढेको छ । गत साता ३७१५.९६ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १४.०० अंक बढेर ३७२९.९६ विन्दुमा पुगेको छ । त्यस्तै, यस साता व्यापार उपसमूहको परिसूचक ०.२५ प्रतिशत बढेको छ ।

यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४९ प्रतिशत घटेको छ । गत साता १० हजार ६५९.५५ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता २६५.४३ अंक घटेर १० हजार ३९४.१२ विन्दुमा झरेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक घटेको हो ।

यस साता ४ म्युचुअल फण्ड र एक कम्पनीको बोनस सेयर गरी कुल ५२ करोड ९५ लाख १४ हजार ३८१.६० कित्ता धितोपत्र नेप्सेमा सूचीकृत भएको छ । यस साता नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो भने सिद्धार्थ इक्विटी फण्ड २, सानिमा इक्विटी फण्ड २, एलएस होराइजन १२ र रिलायबल समृद्धि योजना २ को इकाई नेप्सेमा सूचीकृत भएको हो ।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट