
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद् व्यवस्थापन तथा राहत वितरणको मुख्य जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने बताएका छन् । भोटेकोशी बाढीपछि उत्पन्न सङ्कट तथा देशभरका बाढी प्रभावित क्षेत्रको अवस्थाबारे नेपाली कांग्रेसले आइतबार आयोजना गरेको छलफलमा बोल्दै आङ्देम्बेले केन्द्रीकृत सोचका कारण राहत वितरणमा ढिलाइ भएको बताए ।
हालै नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरेर फर्किएका उनले राहत सामग्री एकै ठाउँमा थुप्रिए पनि पीडितसम्म पुग्न नसकेको अवस्था देखिएको बताए ।
‘वान डोर पोलिसीका नाममा एक ठाउँमा सामग्री जम्मा भएको छ, तर वितरण हुन सकेको छैन,’ उनले भने, ‘राहत गोदाममा थुप्रिने अनि पीडितहरू भोकभोकै बस्ने अवस्था हुनुहुँदैन । यसको व्यवस्थापनका लागि स्थानीय सरकारलाई नै ड्राइभिङ सिटमा राख्नुपर्छ ।’
आङ्देम्बेले विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुन नसकेको बताए । उद्धार तथा खोजी कार्यमा सेना र प्रहरीको भूमिका प्रशंसनीय भए पनि राहत वितरणमा आवश्यक समन्वय नदेखिएको उनको भनाइ छ । ‘सर्च र रेस्क्यूमा सेना–प्रहरीको भूमिका उत्कृष्ट रहे पनि रिलिफको काममा भने समन्वय देखिएन,’ उनले भने, ‘सङ्घ सरकारले प्रदेश र स्थानीय तहलाई अझै पनि उचित प्राथमिकता दिएको छैन ।’
बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी गराउन आफूले शनिबार प्रधानमन्त्रीलाई भेटेको पनि आङ्देम्बेले बताए । भेटमा रसुवा, नुवाकोटलगायतका प्रभावित क्षेत्रमा राहत पुग्न नसकेको र सरकारनिकट संस्थाहरूलाई मात्र राहत वितरणको जिम्मेवारी दिइएको भन्ने जनगुनासोबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले जानकारी दिए ।
प्रधानमन्त्रीले भने स्थानीय तह तथा जनप्रतिनिधिसँग समन्वय गरेर सरकारले काम गर्ने आश्वासन दिएको आङ्देम्बेले बताए । सरकारी संयन्त्रले मात्र सबै काम गर्न नसक्ने भन्दै प्रधानमन्त्रीले कुनै निश्चित संस्थालाई मात्र राहत वितरणको जिम्मेवारी दिइएको भन्ने आरोपमा सत्यता नरहेको बताएको उनको भनाइ छ ।
आङ्देम्बेले विपद्को समयमा राहत वितरणमा राजनीतिक पूर्वाग्रह राख्न नहुनेमा जोड दिए । सबै तहका सरकारसँगै राजनीतिक दलका कार्यकर्ता, नागरिक समाज र अन्य सरोकारवालालाई विश्वासमा लिएर राहत तथा पुनःस्थापनाको काम अघि बढाउनुपर्ने उनले बताए ।
उनले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच स्पष्ट जिम्मेवारी र समन्वय कायम गर्नुपर्ने तथा स्थानीय तहको नेतृत्वमा राहत वितरणको संयन्त्र निर्माण गर्नुपर्ने सुझाव दिए ।













समाचार
नेपालका लायन्सहरूको तर्फबाट प्रधानमन्त्री राहत कोषमा १ कराेड बढी सहयाेग
पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक
नेपाल चेम्बर अफ कमर्सद्वारा बाढी प्रभावितका लागि राहत सामग्री हस्तान्तरण
वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
रसुवालाई वैकल्पिक सडकमार्फत जोड्ने प्रयास
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको बाढी पीडितलाई ४ करोड १ लाख सहयोग
बाढीमा बगेका ७८८ जनाको शव भेटियो
विपद्को समयमा सरकारलाई पूर्ण सहयोग गर्छौं : सभापति थापा
केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छः परराष्ट्रमन्त्री खनाल