
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्नु पार्टीको नीति रहेको बताएका छन् । पार्टी कार्यालयमा आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा बोल्दै सभापति थापाले संकटको समयमा सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने र कांग्रेसले त्यसलाई केन्द्रमा राखेर सहयोग गर्ने बताए ।
उनले राहत तथा उद्धार कार्यमा देखिएका कमजोरी औँल्याउनु सरकारको आलोचना नभई सहयोगकै एउटा हिस्सा भएको बताए । ‘कहाँ ग्याप छ, कहाँ काम हुन सकेको छैन भनेर औँल्याउनु आलोचना होइन, सरकारलाई सहयोग पुर्याउनु हो,’ उनले भने ।
थापाले कांग्रेसका केन्द्रीय सदस्य, सांसद तथा देशभरका निर्वाचित जनप्रतिनिधिलाई स्वेच्छिक रूपमा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न आह्वान गरेका छन् । पार्टीका विभिन्न समितिबाट सङ्कलित रकम एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा बुझाउने उनले बताए ।
राहत वितरणमा दोहोरोपन नहोस् भनेर पार्टीले यस्तो निर्णय गरेको थापाको भनाइ छ । उनले विपद्का बेला राहत तथा उद्धारका कामलाई व्यवस्थित र प्रभावकारी बनाउन सबै पक्षबीच समन्वय आवश्यक रहेको बताए । विशेषगरी सुरुङ तथा जटिल भौगोलिक क्षेत्रमा फसेका नागरिकको उद्धारका लागि नेपालसँग पर्याप्त विज्ञता वा स्रोतसाधन नभए बाह्य सहयोग लिन संकोच गर्न नहुने उनले बताए ।
‘हामीसँग भएको स्रोतले मात्र पुग्दैन भने बाहिरको मद्दत लिएर भए पनि नागरिकको ज्यान जोगाउनुपर्छ,’ थापाले भने । यस विषयमा आफूले परराष्ट्रमन्त्रीसँग समेत छलफल गरिसकेको उनले जानकारी दिए । सभापति थापाले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका निर्णायक हुने बताए । सङ्घीय सरकारले स्थानीय सरकारसँग उचित समन्वय गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय तहलाई बाइपास गरेर विपद्को सामना गर्न नसकिने बताए ।
‘स्थानीय सरकारलाई बाइपास गरेर विपद्को सामना गर्न सकिँदैन । उनीहरूलाई नै सक्रिय र जिम्मेवार बनाउनुपर्छ,’ उनले भने । थापाले बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी अवस्थाबारे जानकारी लिने र थप राहतका लागि पहल गर्ने बताए । बैठकमा नुवाकोट, रसुवा र धादिङका कांग्रेस नेता तथा कार्यकर्ताले आ–आफ्नो क्षेत्रको बाढी तथा पहिरोबाट भएको क्षति र राहत तथा उद्धारको अवस्थाबारे जानकारी गराएका थिए ।












समाचार
नेपालका लायन्सहरूको तर्फबाट प्रधानमन्त्री राहत कोषमा १ कराेड बढी सहयाेग
पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक
नेपाल चेम्बर अफ कमर्सद्वारा बाढी प्रभावितका लागि राहत सामग्री हस्तान्तरण
वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
रसुवालाई वैकल्पिक सडकमार्फत जोड्ने प्रयास
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको बाढी पीडितलाई ४ करोड १ लाख सहयोग
बाढीमा बगेका ७८८ जनाको शव भेटियो
राहत वितरणमा स्थानीय तहलाई ‘ड्राइभिङ सिट’मा राख्नुपर्छ : भीष्मराज आङ्देम्बे
केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छः परराष्ट्रमन्त्री खनाल