पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा

काठमाडौं । इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । भोटेकोशी नदीमा आएको असाधारण बाढीका कारण सिर्जित कठिन परिस्थिति लाई मध्यनजर गर्दै सञ्चालक समितिको निर्णयअनुसार भदौ ३१ गते देखि लागू हुने गरी साविकको मूल्य नै कायम राखिएको हो ।

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आइरहेको छ । भदौ ३० गते आइओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १२ रुपैयाँ ४० पैसा र डिजेलमा प्रति लिटर ४ रुपैयाँ ६८ पैसा बढेर आएको थियो । सञ्चालक समितिको निर्णयपछि अब पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य पहिलो वर्गका क्षेत्रमा प्रति लिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ नै कायम रहनेछ । पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल पर्छन्।

यसैगरी आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रति लिटर २४९ रुपैयाँ र काठमाडौँतर्फ अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर १ हजार ६९७ अमेरिकी डलर कायम छ । १४.२ किलोग्रामको एलपी ग्याँसको मूल्य प्रति सिलिन्डर २ हजार ६० रुपैयाँ यथावत् राखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य निरन्तर वृद्धि भइरहँदा पनि खुद्रा बिक्री मूल्य समायोजन नगरिँदा निगमलाई पाक्षिक रूपमा १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने देखिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर