
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शनिबार भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै नेपालमा नयाँ लगानी गर्न र नेपालमा लगानी गरिरहेका उद्योगीलाई लगानी विस्तार गर्न आग्रह गर्ने भएका छन्। भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले भारतीय उद्योग परिसङ्घ (सीआईआई) ले आयोजना गर्ने उद्योगीहरूसँगको ‘राउन्ड टेबल’ छलफललाई शनिबार बिहान साढे ९ बजे नयाँ दिल्लीस्थित सीआईआई मुख्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ।
सीआईआईकी अध्यक्ष डा. सुचित्रा के. इलाको अध्यक्षतामा हुने कार्यक्रममा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। छलफलमा नेपालमा लगानीको सम्भावना, लगानीको वातावरण तथा भारतीय लगानीकर्ताले भोगिरहेका समस्या र त्यसको समाधानका विषयमा समेत चर्चा हुने बताइएको छ।
अर्थमन्त्री वाग्लेले भारतीय उद्योगपतिहरूलाई नेपालमा लगानीका लागि अनुकूल वातावरण निर्माण भइरहेको जानकारी गराउँदै लगानीमैत्री कानुनी स्थिरता, लगानी सुरक्षा र प्रतिफलको सुनिश्चितताबारे सरकारको धारणा स्पष्ट पार्नेछन्।
नेपालमा लगानी गरिसकेका भारतीय उद्योगीलाई थप लगानीका लागि प्रोत्साहित गर्नुका साथै नयाँ लगानीकर्तालाई समेत नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गर्ने कार्यक्रम रहेको छ।
विशेषगरी ऊर्जा, उत्पादनमूलक उद्योग, पूर्वाधार तथा प्रविधिलगायत क्षेत्रमा भारतीय लगानी विस्तारका लागि नेपालले प्राथमिकता दिँदै आएको सन्दर्भमा अर्थमन्त्रीको उद्योगी भेटघाटलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। छलफलमा सीआईआईका पूर्वअध्यक्ष एवं आईटीसी इन्डियाका अध्यक्ष सञ्जीव पुरीसहित करिब दुई दर्जन भारतीय उद्योगपति सहभागी हुने सीआईआईले जनाएको छ।
भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले यसअघि भारतीय वित्तमन्त्री निर्मला सीतारमण तथा विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरिसकेका छन्। भ्रमणका क्रममा नेपाल–भारत आर्थिक सम्बन्ध, व्यापार, लगानी र ऊर्जा सहकार्यका विषयमा छलफल भइरहेको छ।












समाचार
संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री
नेपाली क्रिकेट टोलीको बिदाइ
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भारत र बंगलादेशमा साढे ५६ करोड युनिट बिक्री
भारतद्वारा नेपाललाई १३० टनभन्दा बढी सहायता सामग्री हस्तान्तरण
प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
त्रिशूली-१ जलविद्युत् आयोजनामा बेपत्ता ११ जनाको शव फेला
‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका दुई नेपाली ग्राहकको सम्मान
विपद्पछिको पुनर्निर्माणमा सार्वजनिक–निजी साझेदारी र एकीकृत आवास विकासमा जोड
धितोपत्र बोर्डबाट राष्ट्रिय वाणिज्य बैंकले पायो रु. ३ अर्बको ऋणपत्र निष्कासन गर्ने अनुमति