
लमजुङ । निर्माण व्यवसायीले समयमा काम नगर्दा बिचौर–भुम्लीचोक–फुलाङ्गिरी–जोर्ने–गौडाभञ्ज्याङ सडकको करिब आठ किलोमिटर खण्ड अलपत्र परेको छ ।
निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि उक्त सडकखण्डको भौतिक प्रगति करिब ४७ प्रतिशत मात्र भएको सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी राजेन्द्र कार्कीले बताए । “समयमा निर्माण व्यवसायीले काम नगरेका कारण सडक निर्माणमा ढिलाइ भएको हो । अहिले पनि कामले अपेक्षित गति लिन सकेको छैन,” उनले भने ।
निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत अघि बढाइएको उक्त सडकको ताजी–ठूलोकाभ्रे खण्डलाई दुई लेनमा कालोपत्रे गर्ने काम भइरहेको छ । सडक स्तरोन्नतिको जिम्मा सर्व उद्धार–ज्वान्दनबा–अंशुबी जेभीले पाएको छ ।
रु ४० करोड लागत अनुमान गरिएको उक्त सडक निर्माणका लागि रु २८ करोड ६५ लाखमा ठेक्का सम्झौता भएको हो । सम्झौताअनुसार विसं २०७९ असार २३ गतेदेखि निर्माण सुरु गरी २०८२ असारमा सम्पन्न गर्नुपर्ने थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि २०८२ पुससम्म म्याद थप गरिएको थियो ।
थपिएको समयमा काम सम्पन्न हुन नसकेपछि निर्माण व्यवसायीले २०८४ असारसम्म म्याद थपको माग गरेको थियो । सडक डिभिजन कार्यालयले २०८३ चैतभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी नयाँ मिति निर्धारण गरेको छ ।
“निर्माण व्यवसायीले २०८४ असारसम्म म्याद थपको माग गरेको थियो । तर २०८३ चैतभित्र काम सक्ने गरी म्याद थप गर्ने निर्णय भएको छ,” उनले भने । सूचना अधिकारी कार्कीका अनुसार सो सडकमा करिब ८०० मिटर आरसिसी ढलान गर्नुपर्नेमा हालसम्म ६५० मिटर सम्पन्न भएको छ । सडकका संरचना निर्माण, माटो सम्याउने, कटिङ गर्ने, सडक चौडा बनाउनेलगायतका काम पूरा भएको उनले बताए । हालसम्म रु १३ करोड १३ लाख भुक्तानी भइसकेको छ ।
दूधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङले सडक निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीयवासीले लामो समयदेखि समस्या भोग्दै आएको बताए । उनले सडक निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित निकाय र निर्माण व्यवसायीलाई ताकेता गर्नुपर्ने अवस्था रहेको बताए ।
उनका अनुसार सडक निर्माण सम्पन्न नहुँदा गाउँपालिकाका विभिन्न वडाका बासिन्दालाई आवतजावतमा समस्या हुनाका साथै स्थानीय उत्पादनको बजारीकरणमा कठिनाइ भइरहेको छ ।
दूधपोखरी गाउँपालिका–३ का वडाध्यक्ष श्याम गुरुङका अनुसार, रणनीतिक महत्वको सडक भए पनि निर्माणले गति लिन सकेको छैन । गत वैशाखदेखि सडकमा खासै काम नभएको उनको भनाइ छ । वडाध्यक्ष गुरुङका अनुसार सडकमा केही कामदार परिचालित भए पनि निर्माण व्यवसायीले पारिश्रमिक नदिएको गुनासो आएको छ ।
सडकको अवस्था जीर्ण हुँदा सवारी सञ्चालन तथा स्थानीयवासीको आवतजावतमा समस्या भइरहेको उनले बताए । सडक डिभिजन कार्यालय दमौलीले सडक निर्माणमा पर्याप्त ध्यान नदिएको उनको गुनासो छ । सडक निर्माण सम्पन्न भएपछि दूधपोखरी गाउँपालिकाका विभिन्न वडाका साथै आसपासका ग्रामीण क्षेत्रका बासिन्दालाई आवतजावत गर्न सहज हुने छ ।












समाचार
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग
जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा