
चितवन । चितवनका गुरुङ समुदाय संस्कार संस्कृतिको संरक्षण तथा एकरुपताका लागि जुटेका छन् । जिल्लास्थित गुरुङ समुदायको धार्मिक संस्था तमू प्ये ल्हु संघले संस्कृतिको संरक्षणका र एकरुपताका लागि समुदायमा प्रचलित मौलिक सांस्कृतिक नृत्य ‘सेर्गा नाच’को तालिम सञ्चालन गर्ने भएको हो ।
बसाइँसराइसँगै मौलिक सांस्कृतिक तथा सामूहिक नृत्य हराउन थालेपछि संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ समूह निर्माण गरेर तालिममार्फत सिकाउने तयारी गरिएको संघका अध्यक्ष विक्रम गुरुङले बताए । यसअघि पनि संस्कृतिबारे विभिन्न अभियान सञ्चालन गर्दै आइरहेको भन्दै गुरुङ समुदायको मृत्यु संस्कारमा पनि यो नृत्य देखाइन्ने भएको तालिम सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । परापूर्वकालदेखि चलिआएको संस्कृति भए पनि नयाँ पुस्ताले यसप्रति चासो नदेखाउँदा सेर्गा हराउने अवस्थामा आइपुगेको अध्यक्ष गुरुङले बताए ।
‘चितवनमा अधिकांश गुरुङ बाहिरी जिल्लाबाट बसाइँ सरी आएपछि नयाँ ठाउँमा संस्कृति संरक्षण तथा एकरुपता कायम चुनौती भएको छ, त्यसमाथि नयाँ पुस्तामा पुस्तान्तरण हुन नसक्दा संस्कृति पनि लोप हुने अवस्थामा आइपुगेको छ’, उनले भने । अध्यक्ष गुरुङका अनुसार यो नाच गुरुङ जातिमा मृत्युपछि गरिने संस्कार अर्घौमा नचाइन्छ । समूहमा गाउने, बजाउने र नाच्ने हुँदा सेर्गाको लागि ठूलो समूह आवश्यक पर्ने उनको भनाइ छ ।
संस्कृति संरक्षण गर्दै पुस्तान्तरण गर्ने उद्देश्यले संस्थागतरूपमा तमू प्ये ल्हु संघमार्फत तालिम दिने तयारी गरिएको उनले जनाकारी दिए । सेर्गामात्र नभइ गुरुङ जातिको धर्मगुरूलाई भेला गराई संस्कारलाई एकरुपता दिन थप परिस्कृत गर्दै लैजाने योजना रहेको अध्यक्ष गुरूङले बताए । सेर्गा नाँचको तालिमको तयारी लागि गत सोमबार वृहत् दोस्रो खेगी (धर्मगुरू) को भेला गरिएको थियो । धर्म संस्कारको संरक्षण र प्रवर्द्धनलाई अझ दिगो बनाउने र युवा पुस्ता माझ पुर्याउने उद्देश्य रहेको अध्यक्ष गुरुङले बताए । ‘खेगी गुरूहरूको भेलामार्फत धर्म संस्कार संरक्षणलाई अझ दिगो बनाउने प्रयास गरेका हौँ’, उनले भने, ‘यसको मुख्य उद्देश्य आफ्नो जातिको संस्कारलाई भावी पुस्तासम्म पुर्याउनु हो ।’
तालिम यथाशीघ्र सञ्चालन हुने उनले जानकारी दिए । धर्मगुरूको भेलामार्फत जिल्लाभर बस्ने खेगीहरुसँग समग्र तमू जातिबीच सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका खेल्ने सङ्घका जिल्ला अध्यक्ष विक्रम च्हम्रु तमूले बताए । संघका पूर्वअध्यक्ष भीमबहादुर गुरुङले प्ये छ्याबारे समग्र तमू जातिलाई बुझाउन खेगी भेला फलदायी भएको बताए । नयाँ पुस्तामाझ पुरानो मौलिक संस्कृतिलाई पुस्तान्तरण गराउन यस्ता गतिविधि आवश्यकपर्नेमा उनले जोड दिए । प्ये (वेद)मा एकरुपता आवश्यक खेगी गुरुहरूले तमू जातिको संस्कार, संस्कृतिसम्बन्धी प्ये (वेद)मा एकरुपता ल्याउन आवश्यक रहेको बताए ।
ठाउँ र भेगअनुसार तमू भाषामा देखिएको विविधताले खेगीको प्येमा पनि विविधता देखिँदा सबैको बुझाइ एकनासको हुन नसकेको खेगी (घ्याप्री गुरू) चित्रबहादुर गुरुङले उल्लेख गरे । सबै खेगीको बुझाउने शैलीमा एकरुपता नहुँदा अन्य संस्कारले पनि प्रवेश पाएको उनको भनाइ छ । ‘हाम्रो संस्कार र संस्कृतिको महत्व कमजोर हुँदै जानुमा हामी दोषी छौँ । हामीले पुस्तान्तरण गर्न नसक्दा अरु संस्कार र संस्कृतिले प्रवेश गर्दै गएका छन,’ खेगी गुरुङले भने, ‘सबै गुरुङलाई बुझाउने ठाउँमा हामी रहेकाले अब पुस्तान्तरणसँगै संस्कार संरक्षण र प्रवर्द्धनमा जुटेका हौँ ।’
खेगीबाट फरक शैलीमा सांस्कृतिक कुरा बाहिर आउँदा नयाँ पुस्ता अलमलमा परेकाले एकरुपता आवश्यक पर्नेमा उनले जोड दिए । घ्याप्री गुरू नवराज गुरुङले जिल्ला र ठाउँअनुसार भाषा फरक भए पनि आफूले गर्दै आएको कर्म र त्यसबाट हुने प्रभावबारे खुलेर जानकारी गराउन सक्नुपर्ने बताए । ‘हामी विभिन्न जिल्लाबाट आएर बसेका छौँ । ठाउँअनुसार भाषामा केही तलमाथि हुन्छ’, उनले भने, ‘त्यसको प्रभाव खेगीको वेदमा पनि देखिन्छ ।
हाम्रो जन्मदेखि मृत्युपछिसम्म चल्ने सांस्कारिक चलनको विषयमा राम्रोसँग बुझाउन नसक्दा कति गुरुङ आफ्नो संस्कार र संस्कृतिभन्दा बाहिर गइसकेका छन् । अब हामीले जोगाउने प्रयास गर्नुपर्छ ।’ पैँडी गुरू ज्ञानबहादुर गुरुङले यस समुदायमा नभइ नहुने वर्ग, पार्क र मेवाबारे पूर्ण जानकारी राख्नु सक्नुपर्ने बताए । यससम्बन्धी जानकार व्यक्तिले नयाँ पुस्तालाई बुझाउँदै पुराना मौलिक संस्कारलाई पुस्तान्तरण गर्नु आवश्यक रहेकामा उनले जोड दिए ।













समाचार
बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने
विदेशबाट फर्किएका युवा भेडापालनमा
पौवादुङमामा किसान र पालिकाको साझेदारीमा ‘गाई–भैंसी पकेट कार्यक्रम’
आज प्रतिनिधिसभाको बैठक बस्दै
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
नेप्सेमा युनाइटेड मोदीको साढे ८ लाख कित्ता सेयर सूचीकृत
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनदेशको सहटी दर कति ?