
चितवन । चेपाङ समुदायले महान् चाड ‘न्वागी’ चितवन जिल्लामा धूमधामसँग मनाएका छन् । चितवनमा चेपाङहरूको बाक्लो बसोबास रहेको कालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका बस्तीहरूमा यो पर्व मनाइएको हो ।
नेपाल चेपाङ संघ कालिका नगर कमिटीको आयोजनामा शक्तिखोरमा वृहत् सांस्कृतिक कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले भाषा संस्कृति माथि भइराखेको प्रहारलाई रोक्न यस्ता कार्यक्रमले धेरै मदत पुग्ने बताए । उनले विभिन्न जातजाति धर्मको अलग्गै पहिचान बोकेको यो समाजमा चेपाङ समुदायको भाषा संस्कृति जगेर्ना गर्न सरकार प्रतिबद्ध भएको बताए । उनले आर्थिक रूपमा विपन्न भएका चेपाङ समुदाय उत्पादनसँग जोडिन अनुरोध गरे ।
आर्य आर्जनमा सहभागी हुनेलाई नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त पनि गरे । आफ्नो आम्दानी अनुसार खर्च गर्ने संस्कार बसाल्न सकेमा आर्थिक संकटबाट टाढा रहन सकिने उनको भनाइ छ । नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठले विगतमा भन्दा फरक व्यवस्था आएकाले अब सधैँ अभाव र बिलौना गरेर बस्न नहुने बताए ।
चेपाङ समुदायबाट उच्च शिक्षा अध्ययन गर्ने, राजनीतिक चेतना भएका, परिवर्तनमा सहभागी भएकाहरू यही समाजमा छन् । ती अगुवाहरुनै राजनीतिक नेतृत्वमा आएर समाज परिवर्तन गर्नु पर्ने बताए । चेपाङ समुदायबाट संविधान सभा सदस्य भइसकेका प्रदेशमा मन्त्री भइसकेका छन्, उनले भने, अब स्थानीय पालिका प्रमुख भएर आफ्नो क्षमता विकास गर्न उनले सुझाव दिए ।
कार्यक्रममा नेपाल चेपाङ संघका केन्द्रीय सदस्य डिल्लीराम चेपाङले लिपिको संरक्षण गर्नु आवश्यकता भएको बताए । विदेशी भाषा र अन्य भाषाले चेपाङको मौलिकता हराउन थालेको भन्दै चेपाङ भाषाको लिपि सुरक्षित राख्नु पर्नेमा जोड दिए । २०७२ को संविधानपछि पालिकाहरू निर्माण गर्न चेपाङ जातिको संरक्षणमा ध्यान नपुगेको बताए ।
चितवनको कोराक, लोथर, सिद्धिलाई गाउँपालिका नै कायम राख्न माग गरे । गाउँपालिका भएमा त्यहाँको सरकार चेपाङ जातिले नै सञ्चालन गर्ने अवसर पाउने बताए । कालिका नगर कमिटीका अध्यक्ष कृष्णबहादुर चेपाङले स्थानीय सरकार विपन्न चेपाङ समुदायको संरक्षणमा लाग्नु पर्ने बताए । यस्तैगरी पूर्वी चितवनको चेपाङ बालबालिकालाई आवासीय शिक्षा दिइरहेको गामबेसी चेपाङ संरक्षण केन्द्र रत्ननगरले पनि ‘न्वागी’ मनाएको छ ।
गाउँबाट आएका चेपाङका गुरु पान्देहरुले अन्नपातमा पूजापाठ गरेपछि खाना खुवाइएको थियो । चेपाङका गुरु पान्दे अमृतलाल चेपाङले सबै चेपाङ बस्तीहरूमा धूमधामका साथ मनाउने गरिएको बताए । यो पर्व लोप हुने जोखिम रहेकाले संरक्षणमा ध्यान दिनुपर्ने बताए । चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले चेपाङ समुदायका युवा पुस्ताहरूमा आफ्नो चाडपर्व, संस्कृति बिर्सँदै गएकाले केन्द्रमा आश्रित बालबालिकाहरूलाई पर्वको जर्गेना गर्न धूमधामका साथ पान्दे बोलाएर पर्व मनाइएको बताए । उनले विगतदेखि नै यसरी केन्द्रमा न्वागी मनाउने गरिएको जानकारी दिए । केन्द्रमा हाल १५० जना चेपाङ बालबालिकाहरू आवासीय रूपमा अध्ययन गरिरहेका छन् ।
साउन महिनामा बाहिरिएको भगवान् भदौ महिनामा आउने र नयाँ अन्नबालीसँग पूजापाठ गरी मात्र भोजन गर्ने परम्परा रहेको छ । न्वागीको दिन घैया धानको चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गरिन्छ । चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई नचढाई खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक मान्यता छ । यसका लागि चेपाङ झाक्रीहरुले एकपाखे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बली चढाउने गर्दछन् ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजार छ सय ३७ सङ्ख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन् । मकवानपुरमा २३ हजार छ सय ५०, धादिङमा १७ हजार एक सय ६० र गोरखामा चार हजार दुई सय ६८ जना चेपाङको बसोबास छ । २६ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको नेपाल चेपाङका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताए ।
चेपाङहरूको राष्ट्रिय पर्व न्वागीका अवसरमा बागमती प्रदेश सरकारले विसं २०७९ देखि चितवन, मकवानपुर र धादिङ गरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदासमेत दिँदै आएको छ ।













समाचार
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु