
बाँके । बाँकेमा विगत तीन वर्षदेखि ‘धानजोन परियोजना’लागू भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ बर्दियाले ‘धानजोन परियोजना’बाँकेका तीन गाउँपालिकामा लागू गरेको हो ।
बाँकेको जानकी, खजुरा र बैजानाथ गाउँपालिकाको ११ वटा वडाका दुई हजार तीन सय हेक्टर जमिनमा धानखेती गरिएको परियोजनाका कृषि अधिकृत गणेश यादवले बताए । ‘हामीले धानको मूल बीउ उत्पादनका लागि बाँकेका तीनवटा गाउँपालिकामा यो परियोजना लागू गरेका हौँ,’ उनले भने, ‘यो परियोजनाले धानखेतीका लागि सिँचाइ, कृषियान्त्रिकीकरण, बीउबिजन र प्राविधिक सहयोग गर्दै आएको छ ।’ यादवका अुनसार जानकी गाउँपालिका–२ वनकटवाको ग्रिन नेपाल कृषि फर्म र सोही पालिकाकै वडा नं ३ रामवापुरको बैष्णो कृषि फर्ममार्फत १० हेक्टर क्षेत्रफलमा धानको मूल बीउ उत्पादनका लागि खेती गरिएको छ । धानको अवस्था बुझ्न कृषि प्राविधिकहरूले १० हेक्टर क्षेत्रफलमा लगाइएको धानको अनुगमन गरेका छन् ।
यस क्षेत्रका किसानलाई सहज रुपमा बीउ उपलब्ध गराउन राधाचार र रामधानको मूल बीउ उत्पादन गरिँदैछ । जसअन्तर्गत चार सय क्विन्टल मूल बीउ उत्पादन हुने परियोजनाका कृषि अधिकृत गणेश यादवले बताए । उनले परियोजनाले बिज वृद्धि कार्यक्रमका लागि एक लाख ५० हजार बजेट विनियोजन गरेको जानकारी दिए । उक्त रकम बीउ बिषादी, जिङ्क र साइन बोर्डमा अनुदान दिइएको परियोजनाले जनाएको छ । परियोजनाले आधुनिक तरिकाले खेती गर्न तीन ठाउँमा ‘कष्टमहायरिङ्ग सेन्टर’ स्थापना गरेको यादवले बताए । ‘धानखेतीका लागि आवश्यक सबै यन्त्र अनुदानमा उपलब्ध गराइएको छ,’ उनले भने, ‘जहाँबाट सहज रुपमा किसानहरु धानखेतीका लागि ती यन्त्रहरु प्रयोग गरिरहेका छन् ।’
जनहित कृषक समूह बैजानाथ–८ झिगौराका अध्यक्ष जगनरायाण थारुले कष्ट महायरिङ्ग सेन्टर स्थापनापछि किसानलाई फाइदा भएको बताए । ‘यो परियोजनाले हामी किसानलाई काम गर्न सजिलो बनाएको छ । सबै कृषियन्त्र एकै ठाउँमा उपलब्ध हुँदा खेती गर्न सहजभएको छ,’ उनले भने । परियोजनाले सहकारी र समूहका किसानहरुलाई ‘कष्टमहायरिङ्ग सेन्टर’मार्फत ट्याक्टर, थ्रेसर, रोटाबेटर, लेबलर, पावर टिलरलगायत कृषि सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरेको परियोजनाका कृषि अधिकृत यादवले बताए । परियोजनाअन्र्तगत पाँच ठाउँमा ५० हेक्टरमा धानको चकलाबन्दी गरिरहेको छ ।
परियोजनाले समेटेको कार्यक्षेत्रअन्तर्गत आठ सय १४ जना कृषक तथा समूह र सहकारी जोडिएका छन् । ती किसानहरुका लागि यो चालु आर्थिक बर्षमा साना सिँचाइ, धानको चकलाबन्दी, कष्टमहायरिङ्ग सेन्टर स्थापना, धानको बिज वृद्धि, कृषि यान्त्रिकीकरणमा सहयोग, पोष्टहार्वेष्ट, सामग्री वितरण, औद्योगिक संरचना निर्माण तथा मेसिनरी सहयोग, व्यावसायिक प्याज प्रवर्द्धन कार्यक्रम, तरकारी क्षेत्र विस्तार कार्यक्रम रहेको परियोजनाका सूचना अधिकारी ध्रुवराज जोशीले जानकारी दिए । उनका अनुसार यसै परियोजनाअन्तर्गत बाँकेमा चालु आर्थिक वर्ष २०८१÷८२ बाट तरकारी जोनको कार्यक्रम सञ्चालन गरिँदै छ । जसअन्तर्गत पाँच सय हेक्टर तरकारी खेतीमा सहयोग गर्ने परियोजनाका सूचना अधिकारी जोशीले बताए ।
चालु आवमा एक करोड २९ लाख धानखेती र ५० लाख तरकारीखेती प्रवर्द्धनका लागि बजेट रहेको परियोजनाले जनाएको छ । परियोजनाअन्तर्गत यसै वर्ष बाँकेको जानकी गाउँपालिका–१, २, ३, ४ त्यसैगरी, खजुरा गाउँपालिका–२ र ४ र बैजानाथ गाउँपालिका–२, ३ र ४ गरी ११ वटा वडामा कार्यक्रम लागू गरिएको छ । जसअन्तर्गत दुई हजार तीन सय ४१ हेक्टर क्षेत्रफलमा धानखेतीमा प्रवर्द्धन कार्यक्रम लागू गरिएको छ ।












समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द