काठमाडौं । भारी वर्षासँगै उच्च हिमाली क्षेत्रमा भएको हिमपातले आरोहण क्षेत्र प्रभावित भएको छ । पर्यटन विभागका अनुसार गोरखाको उत्तरी क्षेत्र र मुस्ताङमा असोजमै भएको हिमपातले मनासलु र टुकुचे हिमाल आरोहण प्रभावित भएको हो ।
विभागका निर्देशक राकेश गुरुङका अनुसार मनासलु क्षेत्र र टुकुचे हिमाली क्षेत्र हिउँले ढाकेपछि आरोहणमा गएका आरोहीहरू आधार शिविरमै रोकिएका छन् । ‘गोरखाको उत्तरी क्षेत्रमा भएको बाक्लो हिमपातका कारण मनासलु आरोहण गर्न बाँकी करिब ५० जना आरोही आधार शिविरमै रोकिएका छन् । आरोहण पूरा गरेर हिमपातका कारण आधार शिविरमै रोकिएका आरोहीमध्ये केहीलाई आइतबार हेलिकोप्टरबाट उद्धार गरिएको छ,’ उनले भने ।
हिमपातका कारण मनासलु, धवलागिरि पहिलो, कुटुचेलगायत हिमालका आधार शिविरमा रोकिएका आरोही आरोहणका लागि अनुकूल मौसमको पर्खाइमा रहेको र मौसममा सुधार आएपछि मात्रै पुनः आरोहण सुरु हुने उनले बताए । मनासलु आधार शिविर क्षेत्रमा करिब पाँच फिटसम्म हिमपात भएकाले आरोहण सुरु हुन केही दिन लाग्ने उनको भनाइ छ । मनासलु आरोहणका लागि यो सिजनमा २८ समूहका ३०८ जनाले अनुमति लिएका थिए ।
निर्देशक गुरुङका अनुसार हिमपातका कारण हिमाली क्षेत्रमा रोकिएका आरोहीको सकुशल उद्धारका लागि हाल हेलिकोप्टर उडान गर्न निषेध रहेको क्षेत्रमा समेत उडानलाई सहज बनाउन गृह मन्त्रालयले स्विकृति दिएको छ । त्यस्तै मनासलु र सोलुखुम्बु क्षेत्रमा उद्धार पर्खाइमा रहेका पर्यटकको हवाई उद्धारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टर उडान अनुमति प्रदान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरिएको उनले बताए ।
पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख प्रहरी नायब उपरीक्षक रितबहादुर सिंहका अनुसार आइतबार देशका विभिन्न स्थानमा अलपत्र परेका ८८ जना विदेशी नागरिकको उद्धार गरिएको छ । पर्यटन विभाग र पर्यटन प्रहरीको समन्वयमा गोरखाको सामागाउँबाट ८६ जना, काभ्रेबाट दुई जना पर्यटकलाई हेलकोप्टरमार्फत उद्धार गरिएको हो । अविरल वर्षासँगै आएको पहिरोमा परी सिन्धुपाल्चोकमा एक र काभ्रेको पनौतीमा एक जना पर्यटकको निधन भएको छ । त्यस्तै सिन्धुपाल्चोकमा एक र मनासलुबाट एक जना पर्यटक बेपत्ता रहेको र खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।













समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक