दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा

काठमाडौं । ‘दिगो पर्यटनका लागि पथप्रदर्शकको दक्षता’ भन्ने मूल नाराका साथ दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा सम्पन्न भएको छ । टुरिष्ट गाइड एशोसियशन अफ नेपाल (टुर्गान)को आयोजनामा टुरिष्ट गाइड (पर्यटन पथप्रदर्शक) को क्षमता अभिवृद्धि तथा यस क्षेत्रका समस्या समाधानका लागि बृहत् छलफल गर्ने उदेश्यले आज यहाँ सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनको बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले उद्घाटन गरेका थिए  । कार्यक्रममा मन्त्री प्रजापतिले ‘टुरिष्ट गाइड’को समस्यालाई प्राथमिकताका आधारमा समाधान गर्दै लैजाने बताए  । “टुरिष्ट गाइडका तत्काल गर्नुपर्ने समस्या समाधान गर्ने र पछि समाधान गर्नुपर्ने विषयलाई नीति, कानुनबाट समाधान गर्दै लगिनेछ”, उनले भने । मन्त्री प्रजापतिले टुरिष्ट गाइड नेपालको पर्यटन क्षेत्रको विकासका स्तम्भ भएको बताए  । पर्यटक पथप्रदर्शकले पर्यटकलाई मात्र नभएर देशकै पर्यटन क्षेत्रको बाटो देखाइरहेको उनको भनाइ छ ।

टुर्गानका अध्यक्ष प्रभालक्ष्मी प्रधानाङ्गले अनुमतिपत्र नलिइ पर्यटक घुमाउने टुरिष्ट गाइडलाई कारबाही गरिनुपर्ने बताए  । उनले नेपाल भ्रमणका लागि आएका विदेशी पर्यटकलाई नेपालको सकारात्मक सन्देश दिने दूतको कामसमेत टुरिष्ट गाइडले गरिरहेको बताए । अध्यक्ष प्रधानाङ्गले सम्पदा क्षेत्रमा पर्यटक बोक्ने हरियो नम्बरप्लेटको सवारीसाधनलाई उचित पार्किङको व्यवस्था मिलाउनुपर्ने, स्तरीय शौचालय निर्माण गर्नुपर्ने, जथाभावी माग्नेको समस्या समाधान गर्न माग गरे  ।

नेपाल एशोसियसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का महासचिव राजकुमार देवकोटाले अन्तरराष्ट्रिय जगतमा नेपालको पर्यटनबारे सकारात्मक सन्देश दिन टुरिष्ट गाइड लाग्नुपर्ने बताए  । उहाँले पर्यटन क्षेत्रको विकास भएमात्र देशको विकास हुने भएकाले पर्यटन क्षेत्रको विकासमा सबै लाग्नुपर्ने उल्लेख गरे  ।

टुर्गानका पूर्वअध्यक्ष हरेराम बरालले विदेशी पर्यटकलाई नेपालका बारेमा राम्रोसँग जानकार गराउन टुरिष्ट गाइडको महत्वपूर्ण भूमिका रहेको बताए  । विसं २०४६ मा स्थापना भएको टुर्गानमा हाल देशभर एक हजारभन्दा बढी ‘टुरिष्ट गाइड’ आवद्ध रहेको टुर्गानका महासचिव सुविन सितिखुले जानकारी दिए । उनका अनुसार हाल देशभर पाँच हजारभन्दा बढीले अनुमतिपत्र लिइसकेका छन् ।

कार्यक्रममा ‘टुरिष्ट गाइड’का क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका केदार तामाङ, शिवप्रसाद शर्मा, श्रीकृष्ण खरेल, कृष्णकमल सैजु, रमिला पाण्डे, बुद्धिलक्ष्मी शाक्य लगायतलाई सम्मान गरिएको थियो । उक्त सम्मेलनले काठमाडौँ घोषणापत्रसमेत जारी गर्नेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट