
महोत्तरी । दीपावली मुख्य दिन आज लक्ष्मीपूजाका सरसामान जोहो गर्नेहरूका महोत्तरीसहित मिथिला क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको छ । यस भेगका बजारमा झिसमिसेदेखि नै केराका थाम किन्ने बेच्नेको बजार लागेको छ ।
लक्ष्मीपूूजाका लागि स्वागतद्वार बनाउन थम्बा प्रयोग गर्ने मैथिल परम्पराअनुसार जिल्लाका गाउँ,नगर र बस्तीका चोकचोकमा थम्बा किन्नेबेच्नेको भीड नै लागेको छ । लक्ष्मीपूजामा बनाइने स्वागतद्वारमा केराको थाम नभइ हुँदैन । त्यसैले अरुबेला खेर जाने थामको आज ठूलो महत्व छ ।मिथिला क्षेत्रमा दीपावली र छठ पर्वका अवसरमा स्वागतद्वार बनाउन परम्परागत रुपमा अनिवार्यजस्तै रहँदै आएको केराको थाम लाभदायक हुने, केराका थामबाट बनाइएका स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने विश्वासले यसको महत्व बढेको मिथिला संस्कृतिका जानकार जलेश्वर–४ सुगाका कृष्णचन्द्र झा बताए ।
प्रचुर प्रकाश र झिलीमिली भएको घरमा लक्ष्मी त्यही प्रवेशद्वारबाट रङ्गोली कुल्चदै गृहप्रवेश गरेर धनधान्यले पूर्ण गराइदिने विश्वासले यो पर्व परम्परा चलेको मटिहानी–७ स्थित लक्ष्मीनारायण मठका सन्त रवीन्द्र दास वैष्णव बताए । खासगरी व्यापारिक प्रतिष्ठानहरुले प्रत्येक पसलपसलमा केराका थामको स्वागतद्वार बनाउने गरेका छन् । यो परम्पराले आज महोत्तरीका जलेश्वर, बर्दिबास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलवा र लोहारपट्टीसहितका नगरका बजार क्षेत्रमा किसानले बिक्रीका लागि केराका थाम पुर्याएका छन् । खर्चको अभावमा चाड कसरी मनाउने चिन्ता परेका बेला थाम बिक्रीबाट भएको आर्जनले पर्व टार्न सजिलो भएको गौशाला–११ का धनेश्वर महतोले बताए ।
दिवाली पर्वमा एकजोडा केराका थाम रु. चार सयसम्म बिक्री हुने गरेका किसानको भनाइ छ । दिवाली र यसलगत्तैको छठ पर्वमा केराका घरी र कोथा दुवै उत्तिकै बिक्री हुने भएकाले यो आफूहरुको आयआर्जन र गुजाराको राम्रो साधन बनेको केराखेतीका किसान बताउँछन् । केरा बर्सेनि गोडमेल गर्नपर्ने र झ्याङमा बढेका कोथा छ्याँस्नु पर्ने हुँदा किसान यो कामका लागि दिवाली पर्व पर्खन्छन् । अरु बेला कोथा छ्याँसिदा त्यो भकारामा फाल्नुपर्ने हुँदा आफूहरुले यो कामका लागि दिवाली पर्खेने गरेको केराखेतीका अर्का किसान भङ्गाहा–४ रामनगरका हरिदेव साह बताए । दिवालीमा सप्रेका कोथा नै बेचेर अतिरिक्त आम्दानी हुने भएको हुँदा यो बेला कुर्ने गरिएको उनको कथन छ ।
दिपावली र छठ पर्वसमेतमा जिल्लाभरि केराका घरी र थामसमेत लाखौँको कारोबार हुने गरेको छ । धेरैजसो चाडपर्वमा केरा फल चाहिने र अन्य बेला पनि राम्रो बिक्री हुन थालेपछि बर्सेनि केराखेतीको क्षेत्रफल बढ्दै गएको छ । हाल जिल्लामा तीन हजार हेक्टरमा केराखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना