
काठमाडौं । सञ्चालमा रहेका २० वाणिज्य बैंकमध्ये सातवटाले लाभांश घोषणा गरेका छन् । हालसम्म एभरेस्ट, नबिल, ग्लोबल आइएमई, सानिमा, स्ट्यान्डर्ड चार्टर्ड, प्राइम र सिटिजन्स बैंकले लगानीकर्तालाई लाभांश घोषणा गरेका हुन् ।
लाभांश घोषणा गरेका बैंकमध्ये सबैभन्दा बढी लाभांश स्ट्यान्डर्ड चार्टर्ड बैंकले दिने भएको छ । यो बैंकले गत आर्थिक वर्ष २०८०÷८१ को मुनाफाबाट कुल २५.५ प्रतिशत लाभांश घोषणा गरेको छ । हाल सञ्चालनमा २० वाणिज्य बैंक भए पनि १९ वटा मात्र धितोपत्रमा दोस्रो बजारमा सूचीकृत छन् । राष्ट्रिय वाणिज्य बैंक धितोपत्र दोस्रो बजारमा सूचीकृत छैन । यो बैंकले घोषण गरेको लाभांश नेपाल सरकारले प्राप्त गर्नेछ । राष्ट्रिय वाणिज्य बैंकको लाभांश सर्वसाधारणले पाउँदैनन् ।
एभरेस्ट बैंक
गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषण गर्ने र पारित गर्ने पहिलो बैंक हो एभरेस्ट । यो बैंकले प्रस्ताव गरेको लाभांश सेयरधनीलाई वितरण गरिसकेको छ । बैंकले ५.५३ प्रतिशत नगद लाभांश बैंक खातामा पठाइसकेको छ । बोनस सेयर डिम्याट खातामा पठाइसकेको छ । गत वर्ष यो बैंकले २०.५३ प्रतिशत लाभांश दिएको थियो ।
सिटिजन्स बैंक इन्टरनेसनल
सिटिजन्स बैंक इन्टरनेसनलले १८ औँ वार्षिक साधारणसभामार्फत ४.२१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको यही कात्तिक १२ गते सम्पन्न साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । साधारणसभाबाट पारित भएसँगै सेयरधनी बोनस सेयर प्राप्त गर्न योग्य भएका छन् । उक्त सभाबाट गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट ०८१ असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको हो । कर प्रयोजनका निम्ति ०.२१ प्रतिशत नगद लाभांश पनि पारित गरिएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड
स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०८०÷८१ को मुनाफाबाट सेयरधनीलाई २५.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले असार मसान्तसम्मको चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । यो लाभांश पारित भएपछि बैंकका सेयरधनीले प्रतिकित्ता १९ रुपैयाँका दरले नगद रकम प्राप्त गर्नेछन् । घोषणाअनुसार, बैंकको २०० कित्ता सेयर हुने सेयरधनीले थप १३ कित्ता सेयर प्राप्त गर्नेछन् । गत वर्ष यो बैंकले १९ प्रतिशत नगद लाभांश मात्र दिएको थियो । त्योभन्दा अघिको वर्ष बैंकले १६.५१ प्रतिशत नगद लाभांश दिएको थियो ।
नबिल बैंक
नबिल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको एक कित्ता सेयर हुने सेयरधनीले १० रुपैयाँ प्राप्त गर्नेछन् । उक्त प्रस्ताव बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।
यो बैंकले गत वर्ष ११ प्रतिशत नगद लाभांश दिएको थियो । अघिल्लो वर्ष यो बैंकले ११.५ प्रतिशत नगद लाभांश र १८.५ प्रतिशत बोनस सेयर दिएको थियो । नबिल बैंकको यो वर्षको लाभांश १० वर्षयताकै कम हो ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यो बैंकले गत वर्ष ८.९५ प्रतिशत लाभांश दिएको थियो । त्यसअघिको वर्ष १६.६३१३ प्रतिशत लाभांश दिएको थियो ।
सानिमा बैंक
सानिमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कर प्रयोजनसहित ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । प्रस्तावित लाभांश पारित गर्न बैंकले आउँदो मंसिर ४ गते साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका निम्ति बैंकले कात्तिक २५ गते एक दिन बुक क्लोज गरेको छ । कात्तिक २१ गतेसम्म सानिमा बैंकको सेयर खरिद गर्नेले प्रस्तावित लाभांश प्राप्त गर्नेछन् । गत वर्ष बैैंकले १४.७ प्रतिशत लाभांश दिएको थियो ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट सेयरधनीलाई ५.५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । गत वर्ष यो बैंकले ९ प्रतिशत लाभांश दिएको थियो । बैंकले हाल प्रस्ताव गरेको लाभांश १० वर्षयताकै कम हो । अघिल्लो वर्ष बैंकले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिएको थियो ।
निफ्राका सेयरधनीको हात खाली
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई यो वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकले आफ्नो वित्तीय अवस्था थप सुदृढ र सबल बनाउन वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेको हो । यो निर्णयले बैंकका लगानीकर्तालाई निराश बनाएको छ । बैंकले गत वर्षको असार मसान्तसम्म एक अर्ब २३ करोड ९८ हजार रुपैयाँ खुद मुनाफा गरेको थियो । उक्त मुनाफामा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम छुट्ट्याएर बाँकी रहेको ६७ करोड ९५ लाख ३४ हजार रुपैयाँ वितरणयोग्य मुनाफा सञ्चित गरिने बैंकले जानकारी दिएको छ ।
दोस्रो बजारमा सूचीकृत भएयता निफ्राले प्रत्येक वर्ष लाभांश दिँदै आएको थियो ।
गत वर्ष निफ्राले ४.२१०५ प्रतिशत नगद लाभांश दिएकोे थियो । निफ्राले त्यसअघि ०७९ मा पनि ४.२१०५ प्रतिशत नगद लाभांश दिएको थियो । ०७८ मा भने यो बैंकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ४२ प्रतिशत नगद लाभांश दिएको थियो ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना