
लुम्बिनी । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्वभर अस्थिरताको सङ्केत देखा परेको अवस्थामा पवित्रस्थल लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउनुपर्ने बताएका छन् । बुद्धजन्मस्थल लुम्बिनीमा सुरु भएको चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचनको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले विश्वव्यापी रूपमा शान्तिको सन्देश फैलाउन त्रिपिटक पाठ वाचनबाट सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन् ।
उनले पूर्वाधार विकाससँगै त्रिपिटकजस्ता अन्तर्राष्ट्रियस्तरका कार्यक्रम विस्तार गर्न लुम्बिनी विकास कोषको ध्यानाकर्षण गर्दै नेपाल सरकारकोतर्फबाट त्यसमा सक्दो सहयोग हुने बताए । अखिल नेपाल भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा आजदेखि त्रिपिटक वाचन सुरू भएको छ । कार्यक्रममा कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्धका उपदेशलाई विश्वभर फैलाउन त्रिपिटक पाठ वाचन फलदायी हुने बताए । उनले त्रिपिटक पाठ बुद्धका शिक्षाहरूको सन्देश फैलाउने माध्यम भएकाले यस्ता कार्यक्रमलाई अझ बृहत् रूपमा विस्तार गर्नुपर्ने महसुस गरी अघि बढ्न लागेको जानकारी दिए ।
उपाध्यक्ष लामाले थेराबाद, महायान र ब्रजयाना सबै एकजुट भएर बुद्धको उपदेशलाई संसारभर फैलाउन सकिने धारणा व्यक्त गर्दैै बुद्ध दर्शनलाई विश्वले आत्मसात गरेकाले एक अर्ब बढी बुद्धमार्गीलाई पवित्रस्थल लुम्बिनीमा आकर्षित गरी विश्व शान्ति स्थापनाका पक्षमा जुट्नुपर्ने धारणा व्यक्त गरे । सो अवसरमा आठौँ सङ्घनायक नेपालका भिक्षु बोधिसेन महास्थवीरले लुम्बिनी आउँदा आनन्द प्राप्त हुने बताउँदै मायादेवी मन्दिरको नामलाई बुद्धभूमि राख्दा त्यसले विश्वभर राम्रो सन्देश जाने बताए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लुम्बिनी क्षेत्र अध्याँरो देखिएको बताउँदै मायादेवी परिसरसहितको क्षेत्रलाई ‘स्प्रिच्यूल लाइटिङ’ बनाउने प्रतिबद्धता व्यक्त गरे । त्रिपिटक उद्घाटन समरोहमा थाई राजगुरु, अखिल नेपाल भिक्षु महासङ्घका सभापति भिक्षु धम्मसोभन महास्थवीर, महासचिव भिक्षु धर्मगुप्त महास्थवीर, सचिव निग्रोध महास्थविर, आइबिसिका महासचिव रिपोंछे जगछुप छोदेन, श्रीलङ्काका राजदूत चमेरा रुवाङ्गी मुनासिङ्गे, थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्न, म्यानमारका राजदूत म्युम्युन्ट माउङ, भिक्षु बजिरा, उपासक वाङमो डिक्सिले मन्तव्य राख्दै लुम्बिनी विश्वभरका बौद्धमार्गी र शान्तिप्रियहरूको पवित्रस्थल भएकाले त्रिपिटक पाठले बुद्धको उपदेश फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको सङ्ग्रहित ग्रन्थका रूपमा त्रिपिटकलाई लिइन्छ । अपि धम्म शुत्र पिटक, शुत्त पिटक र सम्राट अशोकको पालामा दोस्रो शताब्दी ईशापूर्वमा लेखिएको विनय पिटक गरी तीन ग्रन्थलाई मिलाइ बनाइएको ग्रन्थलाई नै त्रिपिटक भनिन्छ । त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो । हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश सङ्ग्रहित छ । यो ग्रन्थ पाली भाषामा लेखिएको भए पनि धार्मिक प्रभावअनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ । यही फागुन २५ गतेसम्म मायादेवी मन्दिर परिसरमा बिहान ७ः३० देखि अपराह्न ५ बजेसम्म त्रिपिटक पाठ वाचन हुने प्रचारप्रसार संयोजक भिक्षु विमलो स्थवीरले जानकारी दिए ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू