काँकडभिट्टाबाट ८ महिनामा पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात

भद्रपुर । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा १७ अर्ब ७३ करोड ८४ लाख रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् ।

८ महिनाको अवधिमा सबैभन्दा धेरै चिया आठ अर्ब २० करोड ९६ लाख रुपैयाँ, अलैँची पाँच अर्ब २४ करोड ४० लाख रुपैयाँ, प्लाइ तथा भेनियर दुई अर्ब ७३ करोड ६३ लाख रुपैयाँको निर्यात भएको छ । यसैगरी कार्यालयको तथ्यांकअनुसार अदुवा २६ करोड ६३ लाख रुपैयाँ, अम्लिसो ७६ करोड ९७ लाख रुपैयाँ, बन्दा आठ करोड १७ लाख रुपैयाँ, जडीबुटी चार करोड २६ लाख रुपैयाँ, मसुरो दाल रु चार करोड मूल्य बराबरको निर्यात भएको छ ।

सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट दुई अर्ब ४० करोड ४६ लाख २२ हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको छ ।

आयत हुने मुख्य कृषिजन्य वस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो १३ करोड १७ लाख १२ हजार रुपैयाँ, चामल चार करोड ९७ लाख रुपैयाँ, ताजा तरकारी २८ करोड ८७ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको छ ।

यसैगरी ताजा फलफूल २६ करोड ३७ लाख रुपैयाँ, लसुन ६२ करोड ४६ लाख रुपैयाँ, आलु २८ करोड ९१ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार