आईपीएल क्रिकेट : बैंग्लुरुमाथि दिल्लीको ६ विकेटको जित 

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई पराजित गरेको छ । हिजोको खेलमा दिल्लीले घरेलु टोली बेङ्गलुरुलाई ६ विकेटले पराजित गरेको हो । बेङ्गलुरुले दिएको  १ सय ६४ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ५ बलमा चार विकेट गुमाउँदै १६९ रन बनायो ।

दिल्लीका लागि केएल राहुलले अविजित ९३ रन बनाए । ट्रिस्टन स्टब्सले पनि अविजित रहँदै  ३८ रन जोडे । बेङ्गलुरुका भुवनेश्वर कुमारले दुई विकेट लिए । त्यसअघि एम चिन्नास्वामी स्टेडियममा बेङ्गलुरुले टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले सात विकेट गुमाउँदै १६३ रन बनाएको थियो  । बेङ्गलुरुका फिल साल्ट र टिम डेभिडले समान ३७ रन बनाए ।

दिल्लीका विपराज निगम र कुलदीप यादवले समान दुई विकेट लिए । यो नतिजासँगै दिल्ली लगातार चार खेल जित्दै  आठ अङ्कका साथ  प्रतियोगितामा दोस्रो स्थानमा छ । समान अङ्क रहेको  गुजरात टाइटन्स रनरेटको आधारमा शीर्ष स्थानमा छ । पाँच खेल खेलेको बेङ्गलुरु भने ६ अङ्कका साथ तेस्रो स्थानमा  छ । आईपीएलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार