काठमाडौं । ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ । शनिवार दशरथ रंगशालमा भएको फाइनलमा पोखरा थण्डर्सलाई २–१ ले पराजित गर्दै ललितपुर तेस्रो संस्करणमा अपराजित रहेर च्याम्पियन बन्यो ।
ललितपुरका लागि दुई विदेशी खेलाडी इमोह इजेकेल र पापा इबोउ केबेले गोल गरे । पोखराका लागि एनआरएन खेलाडी सुदिल राईले एक गोल फर्काए । ललितपुर अपराजित रहँदै उपाधि जित्ने कीर्तिमान बनाएको छ । यस्तै एनएसएलको उपाधि रक्षा गर्ने पहिलो टिम पनि ललितपुर नै बनेको छ ।
ललितपुरले एनएसएलमा अपराजित खेलको शृंखला पनि बढाउँदै ११ पुर्याएको छ । दोस्रो सिजन अन्तिम ३ खेलमा अपराजित रहेको ललितपुर यस सिजन खेलेको ८ वटै खेलमा अपराजित रह्यो । च्याम्पियन ललितपुरले नगद ८० लाख प्राप्त गर्नेछ भने उपविजेता पोखराले ३० लाख हात पार्नेछ । खेलको सुरुवात सुस्त रहेपनि इमोह इजेकेलले पहिलो हाफको अन्त्यतिर गोल गर्दै साविक विजेता ललितपुरलाई अग्रता दिलाएका थिए । इमोह इजेकेलले खेलको ४२ औं मिनेटमा गोल गर्दै ललितपुर सिटीलाई अग्रता दिलाएका थिए ।
पोखराका लागि सुदिल राईले ६३औं मिनेटमा बराबरी गोल फर्काए । खेल १–१ को स्थितीमा पुगेपछि रोमाञ्चक बनेको थियो । पापा इबोउ केबेले ७४औं मिनेटमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाए । त्यसपछि दुवै टोलिबाट गोल हुन सकेन र ललितपुरले उपाधि रक्षा गर्न सफलक भयो ।