
ताप्लेजुङ । दुर्गम हिमाली भेगमा परम्परागत रूपमा पालिँदै आइएको चौँरी (याक) पालन पेसा समयसँगै घट्न थालेपछि जिल्लाका विभिन्न स्थानीय तहले याक संरक्षण र प्रवर्द्धन गर्ने योजना बनाएका छन् ।
पछिल्ला दशकहरूमा वैदेशिक रोजगारी, सहरीकरण, मौसम परिवर्तन, नयाँ पुस्तामा चासो नहुनुलगायत कारणले याकपालनप्रति आकर्षण कम हुँदै गएपछि यहाँका स्थानीय तहले याक संरक्षण रप्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिँदै आएका हुन् । सिरिजङ्घा गाउँपालिकाले हालै याक संरक्षणप्रति जनचासो बढाउने उद्देश्यले ‘चौँरी प्रदर्शन कार्यक्रम’ आयोजना गरेको थियो । जिल्लामा पहिलो पटक आयोजना गरिएको उक्त प्रदर्शनीमा उत्साहजनक याकपालक कृषकहरूको सहभागिता थियो ।
गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा याकको शरीरको बनावट, सिङको आकार, पुच्छरको बनोट, चालचलन, स्वभावलगायत आधारमा मूल्याङ्कन गरी उत्कृष्ट याक छनोट गरिएको थियो । प्रतियोगितामा विजयी घोषित याकका पालकलाई रु २८ हजार ५८८ नगदसहित प्रमाणपत्र प्रदान गरिएको सिरिजङ्घा गाउँपालिकाले जनाएको छ । सहभागी कृषकलाई प्रोत्साहन स्वरूप रु आठ हजार ५८६ का दरले पुरस्कार वितरण गरिएको थियो । जिल्लास्थित चौँरी व्यवसायी सङ्घका अध्यक्ष दावा शेर्पाका अनुसार यो कार्यक्रमले कृषकहरूमा आत्मविश्वास बढ्नुका साथै चौँरी पालनमा आकर्षण पैदा गरेको छ । ‘हामीजस्ता दुर्गम भेगका किसानलाई राज्यले सम्झिएको महसुस भयो’, उनले भने,‘अब हामीलाई अझ थप चौँरीपालन गर्न हौसला मिलेको छ ।’ गाउँपालिका उपाध्यक्ष डा.चित्र माबोले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई पनि याकपालनतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे । ‘हामीले परम्परागत ज्ञान र सीप जोगाउन यस्ता प्रदर्शनीहरू नियमित रूपमा सञ्चालन गर्ने योजना बनाएका छौँ’, उनले भने ।
याक प्रवर्द्धन गर्नका लागि फक्ताङलुङ गाउँपालिकाले चालु आर्थिक वर्षमा याकपालक कृषकलाई ७५ प्रतिशत अनुदानमा याक वितरण गर्ने कार्यक्रम अघि सारेको छ । गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार यो योजना प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा सञ्चालन हुनेछ । ‘पशुपक्षी तथा मत्स्य विकास कार्यक्रमसम्बन्धी कार्यविधि–२०८१ बनाएर पारित गरिसकेका छौँ’, उनले भने, ‘यो कार्यक्रमले याकपालनको पुनरुत्थान र कृषकहरूको आम्दानी वृद्धिमा सहयोग पुर्याउनेछ ।’ उनका अनुसार कार्यक्रमका लागि गाउँपालिकाले रु आठ लाख बजेट छुट्याएको छ । अध्यक्ष लिम्बूले पछिल्लो समय याकपालन पेसाबाट कृषक क्रमशः पलायन हुन थालेपछि उहाँहरूलाई पुनःआकर्षित गर्ने उद्देश्यले यो पहल गरिएको बताए ।
याक प्रवर्द्धनमा मिक्वाखोला गाउँपालिका पनि अग्रसर हुँदै आएको छ । पालिकाले चालु आर्थिक वर्षमा याक संरक्षण तथा प्रवर्द्धनका लागि रु २५ लाख बराबरको कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ । गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले यस योजनाले याकपालक कृषकलाई आवश्यक प्राविधिक सहयोग, तालिम र पूर्वाधार विस्तारमा सहयोग पुर्याउने बताए । यसैगरी मैवाखोला गाउँपालिकाले पनि याक प्रवद्र्धनमा चासो देखाउँदै रु पाँच लाख बराबरको कार्यक्रम सम्पन्न गरिसकेको छ । पालिकाका अध्यक्ष विजयप्रकाश वनेमले भने, ‘हामीले स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै याकपालनलाई संरक्षण र आयआर्जनको भरपर्दो माध्यम बनाउन खोजिरहेका छौँ ।’
चौँरी (याक) ताप्लेजुङको उच्च हिमाली क्षेत्रको पारिस्थितिक, सांस्कृतिक र आर्थिक जीवनशैलीसँग गहिरो रूपमा जोडिएको छ । हिउँदयाममा चौँरीलाई उच्च हिमाली चरनभूमिमा चराइन्छ । याकबाट मासु, दूध, घ्यू, रौँ (ऊन) लगायतका उत्पादन प्राप्त हुन्छन् । यसले स्थानीयको जीविकोपार्जनमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै