
बागलुङ । ढोरपाटन उपत्यकाको विकास गरी पर्यटकीय गतिविधि बढाउने लक्ष्यका साथ दिगो पर्यटन विकास योजना निर्माणको काम थालिएको छ । स्थानीय स्रोतसाधन उपयोग गरेर अधिकतम विकास गर्न सकिने आधार खोज्ने तथा पर्यटन प्रवर्धनबाटै आर्थिक समृद्धिसमेत ल्याउने लक्ष्यका साथ योजना निर्माणको काम थालिएको हो ।
बिवाइसी बागलुङले २० महिनादेखि सञ्चालन गरिरहेको दिगो पर्यटन प्रवर्धन परियोजना अन्तर्गत विज्ञको सहभागितामा योजना निर्माणको काम सुरु भएको परियोजना संयोजक अमरबहादुर थापाले जानकारी दिए । ढोरपाटनको सौन्दर्य लोप हुन नदिने, स्थानीयलाई सशक्तीकरण गरेर घरबास विकास गर्दै पर्यटक स्वागतका कार्यक्रम सञ्चालन गर्ने तथा उपत्यकामा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने लक्ष्य परियोजनाको छ ।
विज्ञले स्थानीयलाई सशक्तीकरण गर्दै उनीहरूमार्फत पर्यटन प्रवर्धन गर्ने, उपत्यका र बुकीपाटनसम्म जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने, सफाइ अभियान सञ्चालन गर्ने, मौलिक कला र संस्कृतिको संरक्षण गर्ने क्रियाकलापका लागि योजना निर्माण गर्न लागिएको पोखरास्थित वन विज्ञान अध्ययन संस्थानका उपप्राध्यापक विकास अधिकारीले बताए । योजना निर्माण गर्दा पर्यावरणको संरक्षणलाई मुख्य प्राथमिकता दिइने उनको भनाइ छ ।
योजना निर्माणका लागि विज्ञका रूपमा अधिकारीसहित सिटिइभिटीका जीवन भण्डारी, स्थानीय जनप्रतिनिधि, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाका १६ वडाका अध्यक्ष, शिक्षक तथा सामाजिक अगुवाको सहभागिता छ । त्यसका लागि परियोजनाले फरक फरक रूपमा सबैलाई अभिमुखीकरण पनि गराइसकेको छ । त्यसबाहेक प्रत्येक वडामा बालक्लब गठन गरेर दिगो विकासको अभियानमा बालबालिकाको पनि सहभागिता खोजिएको छ । किशोरकिशोरी समूह, टोल विकास संस्थालाई विकासको साझेदार बनाउन र उनीहरूलाई योजनामा अपनत्व दिलाउन सकिने काम भएको संयोजक थापाले बताए । स्थानीय तहले बनाउने नीति, कार्यक्रम र बजेटमा पनि ती योजनाको प्रभाव देखिने गरी बनाउन जनप्रतिनिधिलाई अभिमुखीकरण भइरहेको छ ।
यस क्षेत्रमा ३० वटा होमस्टे स्थापना तथा प्रवर्धनको कार्यक्रम पनि परियोजनाले गर्दैछ । युवालाई उद्यमशीलता विकास तालिम, वातावरण संरक्षणबारे विद्यालय तहमा पाठ्यक्रमका रूपमा पढाउन सकिने गरी सामग्री तयार, विद्युतीय पुस्तकालयमार्फत वातावरण संरक्षण र दिगो पर्यटनका सामग्री राख्ने र अध्ययन गर्ने अवस्था निर्माण भइरहेको छ । फोहोर व्यवस्थापनका लागि ‘इको फ्रेन्डली’ कार्यक्रम सञ्चालन गरी प्लास्टिकजन्य वस्तुको प्रयोग घटाउने, रैथाने उत्पादनको संरक्षणमा किसानलाई सहयोग गरिएको छ । परम्परागत उपचार पद्धति, राडीपाखी उत्पादनमा जागरूक बनाउने र उत्पादनलाई बजारीकरणमा साथ दिने काम पनि भइरहेको परियोजना संयोजक थापाले जानकारी दिए ।
यो अभियानकै क्रममा निसी गाउँपालिकाले दिगो पर्यटन योजना निर्माण गरिसकेको छ भने ढोरपाटन नगरपालिकालाई योजना बनाउन सहयोग गरिएको छ । योजना बनाउँदा जलविद्युत् आयोजना निर्माणमा जोड दिने, कार्बन उत्सर्जनलाई घटाउने, बाढीपहिरो नियन्त्रण, तालतलैया संरक्षणको काम गर्न जैविक विविधताको अध्ययन र तथ्याङ्क सङ्कलन गर्ने काम चलिरहेको परियोजनाले जनाएको छ ।
चालु आवको नौ महिनामा ढोरपाटन सिकार आरक्षमा झन्डै १० हजार सात सय पर्यटक पुगेका छन् । ढोरपाटन पुग्ने विदेशीभन्दा अधिकांश पर्यटक स्वदेशी छन् । यो अनुपातले चालु वर्षमा १८ हजारभन्दा बढी पर्यटक ढोरपाटन पुग्ने अनुमान छ । गत वर्षमा १५ हजार ७७० आन्तरिक र १०६ जना विदेशी पर्यटकले ढोरपाटन घुमेका थिए ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि