
मुस्ताङ । मुस्ताङका किसानले स्याउको बगैँचाभित्र अन्तरबाली लगाएर दोहोरो आम्दानी लिने गरेका छन् । यहाँका किसानले स्याउ बगैँचाभित्र विभिन्न खाद्यान्न तथा तरकारीबाली उत्पादन गरेर दोहोरो आम्दानी गर्ने गरेको शीतोष्ण बागबानी विकास केन्द्र मार्फाले जनाएको छ ।
यहाँको घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाका किसानले स्याउ बगैंचाभित्र विभिन्न खाद्यान्नबाली तथा तरकारीबाली उत्पादन गरी दोहोरो आम्दानी लिने गरेको केन्द्रका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए। किसानले स्याउ बगैँचाभित्र उवा, जौ, मकै, फापर, आलु, सिमी, बोडी, बन्दा, काउली, गोलभेडा, खुर्सानीलगायतका हरियो सागसब्जी उत्पादन गर्ने प्रचलन रहेको उनले बताए ।
जिल्लामा उत्पादन हुने स्याउ पतझड फलफूल हो । असोज÷कात्तिकमा बगैंचाबाट स्याउ टिपिसकेपछि पात झरेर फागुन महिनासम्म स्याउको बोट उजाड हुने प्रमुख आत्रेयको भनाइ छ । यसप्रकारका स्याउ बोटमा पात झर्ने भएकाले स्याउ बगैँचामा अन्तरबाली खेती उपयुक्त रहेको प्रमुख आत्रेय बताउनुहुन्छ । स्थानीय जातका स्याउ बगैंचामा अन्तरबाली लगाउन मिल्ने भए पनि उच्च घनत्वको हाईब्रिड स्याउ बगैँचामा भने अन्तरबाली लगाउन उपयुक्त नहुने उनको भनाइ छ ।
पुरानो जातको स्याउ बगैँचामा बोटको दूरी पाँच/छ मिटरको फरकमा हुने भएकाले त्यसको फरकमा विभिन्न खाद्यान्नबाली तथा तरकारीबाली उत्पादन गर्दा राम्रो हुने र यसले किसानलाई पनि दोहोरो फाइदा पुग्ने उहाँ बताए । उपयुक्त ढङ्गले योजनावद्ध रुपमा स्याउ बगैंचामा अन्तरबाली खेती गर्न सकेमा स्याउको भन्दा दोब्बर तेब्बर आम्दानी गर्न सकिने शीतोष्ण बागबानी विकास केन्द्रका प्रमुख आत्रेयले दाबी गरे ।
स्याउको जरालाई असर पर्ने गरी अन्तरबाली लगाउँदा स्याउ बोटलाई क्षति पुर्याउन सक्ने र स्याउ बगैँचाभित्र अन्तरबाली लगाउँदा थप मलखादको व्यवस्था र पर्याप्त सिँचाइको सुविधा हुन आवश्यक छ । यसका साथसाथै नियमित रुपमा बगैँचा निरीक्षण गरी रोग कीराको व्यवस्थापनमा पनि विशेष ध्यान दिनुपर्छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका– ४ का किसान अजित थकालीले स्याउ बगैँचाभित्र अन्तरबाली लगाएर मुस्ताङका किसानले दोहोरो आम्दानी लिने गरेको जानकारी दिनुभयो । उनले भने, ‘जिल्लामा खेतीयोग्य जमिन एकदमै न्यून छ, किसानले चाहेर पनि कृषि प्रणाली बृहत बनाउन सक्ने अवस्था छैन । उपलब्ध जग्गा उपयोग गरी स्याउ उत्पादनसँगै विभिन्न रैथाने खाद्यबाली र तरकारी लगाउने गरेका छन् ।’













समाचार
सामान्य बढ्यो सिदार्थ बैंकको नाफा, प्रतिसेयर आम्दानी कति ?
शाखा समायोजनसँगै माछापुच्छ्रे बैंकका ८ शाखा कार्यालय बन्द
चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन
इथियोपियामा धार्मिक अनुष्ठानका क्रममा पहिरोमा परि १४ जनाको मृत्यु, कैयौँ बेपत्ता
नेपाल स्काउटको निर्वाचन प्रक्रिया अघि बढाउन सातै प्रदेशलाई पत्राचार
एनएमबी बैंकको नाफामा ४० प्रतिशतको छलाङ, अन्य सूचक कस्ता ?
विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता गराउन इप्पानको माग
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची