काठमाडौं । कीर्तिपुर नगरपालिकाकी एलिना थिङ र तार्केश्वर नगरपालिकाकी प्रसन्न फुयाल काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा एलिनाले नागर्जुन नगरपालिकाकी बन्दना तामाङ तथा प्रसन्नले आयोजक काठमाडौं महानगरपालिका २६ की मिस्टी श्रेष्ठलाई पराजित गरे । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ५÷५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
महिला टिम कुमुतेमा काठमाडौं महानगरपालिका ३१, तार्केश्वर र नागर्जुनले सेमिफाइनलमा स्थान सुरक्षित गरे । काठमाडौं महानगरपालिका ३१ ले तार्केश्वरसंग सेमिफाइनलमा खेल्ने छ । अर्को क्वाटरफाइनल हुन बाँकी छ । गोकर्णेश्वर र काठमाडौं महानगरपालिका १६ बीचको क्वाटरफाइनल विजेताले सेमिफाइनलमा नागर्जुनको सामना गर्ने छ ।
पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १०/१० हजार नगद पुरस्कार जित्ने छन् । महिलाको मात्र २ स्पर्धा समावेश प्रतियोगितामा ८० खेलाडी सहभागी छन् । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।