
गुल्मी । सत्यवति गाउँपालिका–८ भार्र्षेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा कोदो र मकै उत्पादन हुँदै आएको उनको बारी यतिबेला किबीका बोटले ढपक्कै ढाकेको छ । उाले किबीखेती गरेर वार्षिक रु छ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
थापा कृषक मात्र नभएर जनप्रतिनिधि पनि हुन् । सत्यवती–८ का सदस्य थापाले गत ११ वर्षदेखि किबीखेती गर्न सुरु गरेका हुन् । उनले आठ रोपनी जग्गामा किबीखेती गर्दै आएका छन् । उनको बारीमा यलिसन, हेवार्ड, रेड, गोल्डेन, ब्रुनो, मोन्टी र रेड गरी छ जातका किबीका बिरुवा छन् । जलवायु र भौगोलिक संरचनाको हिसाबले भार्षे किबीखेतीका लागि उपयुक्त ठाउँ मानिन्छ । उनले गत वर्ष रु चार लाखको किबी र रु दुई लाखको किबीका बिरुवा बिक्री गरेको बताए । तीन वर्षबाटै किबीले उत्पादन दिन थालेपछि थापालाई किबीखेती गर्ने उत्प्रेरणा जागेको हो ।
एउटै बोटमा ५० देखि एक क्वीन्टलसम्म किबी फल्ने गरेको छ । उहाँको बारीमा अहिले एक सय ५० किबीका बोट रहेका छन् । सुरुमा थापाले तार, पाइप र खम्बा बनाउनका लागि रु आठ लाख खर्चेर व्यावसायिक रुपमा किबीखेती गर्न सुरु गरेका हुन् । “त्यही लगानीले अहिलेसम्म काम गरेको छ, यो बहुवर्षीय भएका कारण एक पटक लगाएपछि ५० वर्षसम्म आम्दानी लिन सकिन्छ, त्यसैले यसैमा रमाएको छु”, उनले भने । किबीमा अन्य जातका फलफुलमा भन्दा रोग खासै नलाग्ने भएको उनले बताए । “वर्षमा दुई पटक हाँगा काटछाँट गर्नुपर्छ, गोठे मल मात्र प्रयोग गर्दै आएको छु, त्यसैअनुसार उत्पादन पनि राम्रो हुँदै गएको छ”, थापाले भने ।
उनले उत्पादन गरेको किबी बजारमा रु दुई सयदेखि रु तीन सयसम्ममा बिक्री हुने गर्दछ । भार्षेको किबी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म पुग्ने गरेको छ । उनले किबीलाई प्रशोधन गरेर वाइन बनाउन सुरु गरेका छन् । किबीलाई बजारको खासै समस्या नभएको थापाले बताए । थापाले पाँच वर्षदेखि किबीको नर्सरीसमेत गर्दै आएका छन् । उनको नर्सरीमा यतिबेला आठ हजार किबीका नयाँ बिरुवा रहेका छन् । एउटा बिरुवालाई रु एक सय ५० देखि रु दुई सय पर्दछ ।
गाउँपालिकाले भार्षेलाई किबीको पकेट क्षेत्र घोषणा गरी कृषकलाई उत्प्रेरित गर्दै आएको छ । किबीखेती विस्तारका लागि पालिकाबाट प्राविधिक सहयोगदेखि आवश्यकताअनुसारको तालिम, टनेल, नर्सरी तथा बिरुवामा अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताए ।
किबीका अन्य जातमा सबैभन्दा राम्रो गोल्डेन र रेड किबी राम्रो मानिन्छ । यसको मुल्य अन्य जातको किबीको भन्दा रु एक सय बढी पर्दछ । भार्षेमा पाँच वटा किबी समूहमा ८० कृषक आबद्ध छन् । यस क्षेत्रमा एक कृषकले १० बोटदेखि एक सय ५० बोटसम्म किवी लगाएका छन् । भार्षेमा हाल ४० हेक्टर क्षेत्रफलमा किसानले व्यावसायिक रुपमा किबीखेती गर्दै आइरहेका छन् ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै