
नवलपुर । डिभिजन वन कार्यालय नवलपुरले आजदेखि विभिन्न प्रजातिका बिरुवा वितरण सुरु गरेको छ । डिभिजन वन कार्यालय नवलपुरको कावासोतीस्थित नर्सरीमा निःशुल्क वितरण सुरु गरेको हो ।
डिभिजन वन कार्यालय नवलपुरले वार्षिक स्वीकृत कार्यक्रमअनुसार उत्पादन गरेको बिरुवा वितरण सुरु गरेको कार्यालयका सूचना अधिकारी वन अधिकृत शिशिर लम्सालले जानकारी दिए । ‘जिल्ला वन पैदावार आपूर्ति समिति, गण्डकी प्रदेश सरकारको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत, जडीबुटी विकास कार्यक्रम र बहुवर्षीय बिरुवा उत्पादन गरी चार वटा कार्यक्रमअन्तर्गत बिरुवा उत्पादन गरेका छौँ’, उनले भने, ‘यस वर्ष एक लाख १५ हजार बिरुवा उत्पादन गरेका छौँ र गत वर्षको बहुवर्षीय उत्पादनबाट १० हजार बिरुवा मौज्दात थियो ।’
गत वर्ष र यस वर्षगरी वनको नर्सरीमा एक लाख २५ हजार बिरुवा भए पनि यस वर्ष बहुवर्षीय बिरुवा उत्पादन कार्यक्रमका १० हजार बिरुवा आगामी वर्षमात्रै वितरण गरिने लम्सालको भनाइ छ । ‘यस जिल्लामा वन क्षेत्र ६० प्रतिशत हाराहारीमा रहेका कारण वन क्षेत्रमा वृक्षारोपण गर्नुपर्ने अवस्था छैन’, उनले भने, ‘जिल्लामा सौन्दर्य प्रदान गर्ने बिरुवा र डालेघाँसको बिरुवाको बढी माग हुने भएकाले हामीले सोहीअनुसार बिरुवा उत्पादन र निःशुल्क वितरण सुरु गरेका छौँ ।’
वनको नर्सरीमा विशेषगरी कपुर, गुलमोहर, वीरेन्द्र फूल, म्याङ्गोस्टिक, धुपी जस्ता सौन्दर्य प्रदान गर्ने बिरुवासहित टिमुर, कुरिलो, हर्रोबर्रो, चिउरी, अमलासहितका औषधीय बिरुवा उत्पादन गरिएको लम्सालको भनाइ छ । कार्यालयले आफ्नो नर्सरीमा विभिन्न ३२ प्रकारको बिरुवा उत्पादन गरेको उल्लेख गर्दै लम्सालले व्यक्तिगत, वन समूह, शैक्षिक संस्था, पार्क र अन्य संस्थालाई मापदण्ड बनाएर बिरुवा वितरण सुरु गरिएको बताए । कार्यालयले तोकेकोभन्दा बढी बिरुवा लैजान फाराम भर्ने सेवाग्राहीले भने बिरुवा लगाउने क्षेत्रफल र वडा कार्यालयको सिफारिस लिएर आउनुपर्ने लम्सालको भनाइ छ ।
कार्यालयबाट लगिएको बिरुवा वृक्षारोपण गरी हुर्काइएको वा नहुर्काइएकोबारे अनुगमन गरिनेसमेत उनले बताए । आजदेखि सुरु भएको बिरुवा वितरण एक महिनासम्म जारी रहनेछ । डिभिजन वन कार्यालयले विगतका वर्षमा आँप, लिची तथा कागतीलगायत फलफूलका बिरुवासमेत वितरण गर्ने गरेकामा यस वर्ष भने बजेट नपर्दा फलफूलको बिरुवा वितरण गर्न नसकिएको उनले बताए । अहिले वनको आफ्नै नर्सरीमा उत्पादन भएका अमला, तेजपात, किम्बु, धुपी, कपुर, वीरेन्द्र फूल, कल्की फूल, रुख कटहर, बेल, टिमुर, कुरिलो, हर्रो, बर्रो, चिउरी, पारिजात, निमारो, बाँस, पीपल, सितचिनी, रक्तचन्दन, सिन्दुर, निम, टिक, अम्बा, बडहर, लप्सी, घिउकुमारी, मेन्डोला, भटमासे, श्रीखण्ड, टाँकी, गोल्ड मोहर र म्याङ्गोस्टिन प्रजातिका बिरुवा वितरण सुरु गरिएको लम्सालले बताए ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम