
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण कार्य तिब्र रुपमा भइरहेको छ । परम्परागत जलाशययुक्त प्रणालीमा आधारित यस आयोजनाले नेपालको जलविद्युत् इतिहासमा पहिलो ‘कङ्क्रिट’युक्त बाँध निर्माण कार्य अघि बढाएको हो ।
आयोजनाका अनुसार मुख्य बाँध १४० मिटर अग्लो हुनेछ । हाल आयोजनास्थलमा बाँधको फाउन्डेसनमाथि औसत १० मिटर उचाइसम्म कङ्क्रिट ब्लकहरू उठाइसकिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दए । ‘बाँध निर्माणको क्रममा मास कङ्क्रिटिङमा तापमान नियन्त्रण अति संवेदनशील हुने भएकाले अत्याधुनिक प्रविधिमार्फत तापमान सन्तुलन गरेर काम गर्ने गरिएको छ,’ उनले भने । प्रमुख भण्डारीका अनुसार बाँधको संरचना अत्यन्तै जटिल र दीर्घकालीन सुरक्षासँग जोडिएको भएकाले तापमान नियन्त्रणमा विशेष ध्यान दिइएको हो । ‘अब बाँधको उचाइ क्रमशः बढाउँदै लगिएको छ, अबको दुई वर्षभित्र क्रङ्क्रिट राख्ने कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ,’ उनले भने ।
प्याकेज–१ अन्तरगत बाँध निर्माण र सेती नदी ‘डाइभर्सन’को काम पूरा गरी बाँधमा कङ्क्रिट राख्ने कार्य भइरहेको सो आयोजनाले जनाएको छ । प्याकेज–१ को ४२ दशमलव ५ प्रतिशत भौतिक प्रगति हासिल गरिएको छ । प्याकेज–१ को निर्माण सोङदा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल, जेभीले गरिरहेको छ । यस प्याकेजअन्तर्गत रिभर डाइभर्सन, स्लोप कटिङ, साइड व्यवस्थापन र दुई ठूला डाइभर्सन टनेल खन्ने कार्य सकिएका कारण भौतिक प्रगति बढेको हो ।
तीनवटा प्याकेजमा निर्माण कार्य धमाधम भइरहेको छ । आयोजनाको समग्रमा ६७ प्रतिशत भौतिक प्रगति भइसकेको सो आयोजनाले जनाएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।
यसका लागि एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोेर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । आयोजनाबाट विद्युत् उत्पादन सुरू भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत् उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने अनुमान गरिएको आयोजना प्रमुख भण्डारीले बताए ।
त्यसैगरी, प्याकेज–२ अन्तर्गत योजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका संरचना निर्माण गरिएको छ । यस योजनाको निर्माणको जिम्मा सिनो हाइड्रो कर्पोरेसन चीनले पाएको छ । त्यसैगरी, प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेसनल लिमिटेड, भारतले गरिरहेको छ ।













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने