वीरगञ्ज । वीरगञ्ज महानगरमा लामो समयदेखि जारी खानेपानी सङ्कटको दीर्घकालीन समाधानमा महानगरवासीले जोड दिएका छन् । खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुभन्दा तत्कालीन रुपमा केही दिन ट्याङ्कर तथा दमकमबाट पानी वितरण गरेर नहुने उनीहरूको भनाइ छ ।
वीरगञ्ज महानगरले ट्याङ्कर र पर्साको सखुवाप्रसौनी गाउँपालिकाले दमकलबाट पानी ओसारेर आपूर्ति गर्न थालेपछि सर्वसाधारणले दिगो समाधानमा जोड दिएका हुन् । वीरगञ्ज महानगरप्रमुख राजेशमान सिंह २०७९ सालको स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुँदा पनि वीरगञ्जमा खानेपानीको समस्या समाधान गर्न लागिपर्ने घोषणा पनि गरेका थिए । उनको चुनावी सभामा पर्साका प्रतिनिधिसभाका सांसद तथा खानेपानीमन्त्री प्रदीप यादवले पनि खानेपानीको दीर्घकालीन समाधान गर्ने घोषणा गरेका थिए । उनी नगरप्रमुखमा निर्वाचित भएको तीन वर्ष बित्दा पनि समस्या यथावत छ ।
वीरगञ्ज महानगर–१३ श्रीपुरका कैफुल मियाँ खानेपानीको सङ्कट समाधान गर्न महानगर अग्रसर नभएकामा खिन्न छन् । ‘चापाकलमा एक थोपा पनि पानी आउँदैन यस्तै हो भने हाम्रो उठिबास हुनेछ,’ उनले भने । यहाँस्थित नेपाल खानेपानी संस्थानका प्रमुख प्रवीणकुमार साहले महानगरको खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान गर्नेतर्फ ध्यान दिन जरुरी भएको बताए । ‘यहाँको खानेपानी सङ्कट चापाकल वा बोरिङ गरेर हुँदैन’, उनले भने, ‘ओभरहेड ट्याङ्की निर्माणदेखि पाइपलाइन विस्तारसम्मका काम गर्न आवश्यक छ । खानेपानीको लाइन भएकै ठाउँमा टोलटोलमा बोरिङ गरेर पानी वितरण पनि भइरहेको छ । एकीकृत रूपमा आपूर्ति व्यवस्थित हुनुपर्छ ।’
महानगरप्रमुख सिंह मङ्गलबार साँझ वडा नं ११ अन्तर्गत विद्यापति नगर, श्रीपुर, रानीघाटलगायत प्रभावित टोलमा ट्याङ्कर लिएर पुगे । ‘नगरवासीलाई पानीको अभावमा राखिन्न, जहाँ समस्या छ, त्यहाँ समाधानको प्रयास गर्नेछौँ’, उनले भने, ‘पानीको समस्या ३२ वटै वडामा रहेको र सबै वडामा समान रूपमा पानी पुर्याउने गरी संयन्त्र बनाएका छौँ ।’