
कैलाली । टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क मिलाएर राखिएका वेतबाँसका सोफा, टेबल र टेबलमाथि राखिएका माटोका करुवा । यी सामग्रीले कार्यालयको शोभा बढाएका छन् ।
नगरप्रमुख रामलाल डगौंरा कार्यालयको शोभा मात्र नभई यस कार्यले स्थानीय उत्पादन प्रवर्द्धन र व्यवसायीलाई प्रोत्साहित गरिरहेको बताउँछन् । ‘यी सामग्रीहरू हाम्रै क्षेत्रमा उत्पादन भएका हुन् । यिनको प्रचारप्रसार र प्रवद्र्धन गर्ने दायित्व हाम्रो पनि हो नि’, उनी भन्छन् । उनी वेतबाँसबाट बनेका फर्निचर वातावरणमैत्री हुनाका साथै स्थानीयस्तरमा नै बन्ने भएकाले उत्पादकलाई प्रोत्साहनका लागि पनि नगरपालिकाले प्रयोगमा जोड दिएको धारणा राख्नुहुन्छ । नगरप्रमुख डगौंरा भन्छन्, ‘हामीले वेतबाँसका फर्निचर मात्र होइन, थारू समुदायको सांस्कृतिक प्रतीक करुवा, ढकिया पनि प्रयोगमा ल्याएका छौँ । यसले हाम्रो कला, संस्कृति र परम्परागत सीपको संरक्षण र प्रचारप्रसारमा ठूलो सन्देश दिएको छ ।’
कार्यकक्षमा राखिएको माटोको करुवा पानी पिउन र पूजापाठमा प्रयोग गरिने थारूहरूको परम्परागत पहिचान हो । यो सांस्कृतिक संरक्षण र सम्मानको प्रतीक पनि हो । हरेक टेबलमाथि राखिएको माटोको करुवाले स्थानीय थारू संस्कृतिको संरक्षण र प्रवद्र्धनमा पालिका प्रतिबद्ध रहेको सन्देश दिइरहेको धेरैले आभाष गर्छन् ।
नगरपालिकाले स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिई उद्यम विकास, रोजगारीको सृजना र स्थानीय सीपलाई प्रोत्साहन दिइरहेको छ । नगरप्रमुखको कार्यकक्षमा राखिएका सोफा, कुर्सी, टेबल सबै स्थानीय उद्योगमा बनेका हुन् । यी फर्निचर आकर्षक मात्र होइन बलिया र टिकाउ पनि छन् । स्थानीय तिलगङ्गा वेतबाँस फर्निचरका सञ्चालक भरतलाल विक नगरपालिकाको पहलले स्थानीय युवालाई रोजगार दिने मात्र नभई समुदायको आर्थिक सशक्तीकरणमा पनि योगदान पुर्याएको बताउँछन् । आफ्नो उद्योगले नगरपालिका कार्यालयमा मात्रै होइन काठमाडौँ, पोखरालगायत विभिन्न सहरमा वेतबाँसका फर्निचर पठाइरहेको उनले बताए ।
‘आठ वर्ष मलेसियाको बसाइँपछि भारतको कलकत्तामा वेतबाँसका फर्निचर निर्माणको काम सिकेको थिए । त्यहाँ सीप आफ्नै ठाउँमा सदुपयोग गरिरहेको छु । यसले स्थानीयलाई रोजगारी दिन सिन सघाउ पुगेको छ’, विश्वकर्माले भने । उनका अनुसार उद्योग सञ्चालन गर्दा सुरुमा भारतको कलकत्ताबाटै कामदार ल्याउनुपरेको थियो । हाल ४० जनाभन्दा बढी स्थानीयले उद्योगमा रोजगार पाएका छन् । ‘कामदारलाई कामका आधारमा पारिश्रमिक दिने गरेको छु । एक जनाले मासिक रु २५ देखि ३० हजारसम्म आम्दानी गर्ने गर्दछन्’, विश्वकर्माले सुनाए । वेतबाँसका फर्निचर बनाउन आवश्यक पर्ने कच्चापदार्थ टीकापुरकै सत्ती कर्णाली सामुदायिक वनबाट प्राप्त हुन्छ ।
२५८ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन नेपालकै सबैभन्दा बढी वेत उत्पादन गर्ने वनका रूपमा परिचित छ । वि.सं २०५१ देखि संरक्षण गर्न थालिएको वेत कटानबाट वार्षिक रु एक करोडभन्दा बढी आम्दानी गर्ने गरिएको सामुदायिक वनका अध्यक्ष जितराम चौधरीले बताए । यसले स्थानीय समुदायको जीवनस्तर उकास्न पनि महत्त्वपूर्ण भूमिका खेलेको उनले सुनाए । वेतका कारण स्थानीय उपभोक्ताले रोजगारी पाउने गर्दछन् । प्रत्येक वर्ष फागुन १५ गतेपछि दुई महिनासम्म वेत काट्ने गरिन्छ । वेत काटेबापत स्थानीय उपभोक्ताहरूले प्रतिकिलो १० का दरले पारिश्रमिक पाउने गरेको अध्यक्ष चौधरीले जानकारी दिए । त्यस अवधिमा एक जनाले दैनिक रु एक हजारदेखि दुई हजारसम्म कमाउने गरेको उनको भनाइ छ ।
वेत चारदेखि पाँच वर्षमा तयार हुने गर्छ । स्थानीय र बाह्य बजारमा समेत वेतबाँसबाट उत्पादित सामग्रीको उच्च माग भएकाले सामुुदायिक वनले विगतदेखि नै वेतको संरक्षण र सदुपयोग गर्दै आएको छ । ‘हामीले सुरुदेखि नै वेत संरक्षण गरिरहेका छौँ । पछिल्लो समय टीकापुरलगायत पालिकाले वेतबाँसका सामग्रीलाई प्रोत्साहन गरिरहेका छन् । यसले संरक्षण प्रयासमा सकारात्मक योगदान पुगेको छ’, अध्यक्ष चौधरीले भने ।
नगरपालिकाले स्थानीय वेतबाँसबाट उत्पादित फर्निचरलाई प्राथमिकता दिई प्रयोगमा ल्याएकामा आफूहरू उत्साहित भएको वेतबाँस फर्निचर उद्योग सञ्चालक विक बताउँछन् । टीकापुर नगरपालिकाले वडा नं ७ मा समेत वेतबाँसबाट बनेका फर्निचरलाई प्राथमिकता दिएको छ । नगरपालिका स्थानीय सीप र उत्पादन प्रवद्र्धनका लागि प्रमुख अभिभावक पनि भएकाले आगामी दिनमा पनि वेतबाँसका सामग्रीलाई प्राथमिकता दिइने नगरप्रमुखले प्रतिबद्धता व्यक्त गरेका छन् ।












समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि