
इलाम । माङसेबुङ गाउँपालिका–२ रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । उनले यस वर्ष मात्र कफीका बिरुवा बिक्रीबाट रु. १३ लाख ५० हजार आम्दानी गरेका छन् ।
पाँच वर्षअघि ‘वाङदेल नर्सरी सेन्टर’ स्थापना गरी कफीका बिरुवा उत्पादन गर्दै आएका राई माङसेबुङकै एक असल बिरुवा उत्पादक किसानका रूपमा परिचित छन् । फेवाखोला नजिकै गजुरमुखी–इभाङ–चतुरे सडकको छेउमा पाँच रोपनी जग्गामा बिरुवा उत्पादन गर्दै आएका छन् । यस वर्ष उनले ४५ हजार कफीका बिरुवा बिक्री गरेका ।
कफीको बिरुवा उत्पादन गर्न थालेपछि नर्सरीमै बिरुवा लिन आउने गरेको उनले बताए । कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले कफीको बिरुवा उत्पादनलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । कफीको बिरुवा इलामकासँगै पूर्वको सङ्खुवासभा र भोजपुर जिल्ला तथा छिमेकी मुलुक भारतको सिक्किमसम्म लैजाने गरेका छन् । बिरुवा विभिन्न पालिका, वडा कार्यालय, फार्म र किसानले खरिद गरी लैजाने गरेको उनको भनाइ छ ।
“बिरुवा उत्पादन गर्न खासै धेरै मेहेनत र समय पनि लाग्दैन”, उनले भने, “यहाँ उत्पादित बिरुवा इलाम तथा बाहिरसमेत जाने गरेको छ ।” कफीको बिरुवा प्रतिगोटा रु. ३० का दरले नर्सरीबाटै बिक्री भएको उनले बताए । राईले नर्सरीमा कफी मात्र होइन, अरु वन पैदावार बिरुवासमेत उत्पादन गर्दै आएका छन् । उनको नर्सरीमा लाम्पाते, सिमल, पानीसाज, खमारी, उतिसलगायत वन पैदावार र आँप, लिची, कटहरलगायत फलफूलका बिरुवा पनि उत्पादन हुँदै आएको छ । वन पैदावार र फलफूलको बिरुवा प्रतिगोटा रु. ४० का दरले नर्सरीबाटै बिक्री हुने गरेको उनले बताए ।
“कफीको बिरुवालाई पहिलो प्राथमिकता दिएको छु । अन्य वन पैदावार र फलफूलका बिरुवा पनि छन्”, उनले भने, “एकै ठाउँमा आफूलाई चाहिएको जति बिरुवा पाइने भएपछि ग्राहकलाई पनि सजिलो भएको छ ।” बिरुवा स्याहारसुसार तथा उखेल्ने र बिक्री गर्ने काममा राजेश आफैँ खट्छन् । छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकाले बिरुवा उत्पादनमा जोड दिएको उनको भनाइ छ । उनको नर्सरी फार्मलाई कोशी प्रदेश सरकारको पनि राम्रै सहयोग मिलेको छ । दुई वर्षअघि कृषि ज्ञान केन्द्र इलाममार्फत नर्सरी प्रवद्र्धनका लागि उनले लागत साझेदारीमा रु. दुई लाख अनुदान पाएका थिए । साझेदारीमा व्यवस्थित टनेल निर्माण गरिएको उनले बताए । कृषि ज्ञान केन्द्र इलामको तथ्यांकानुसार इलाममा एक सय ३५ हेक्टर क्षेत्रमा कफीको व्यावसायिक खेती हुँदै आएको छ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम