२० वर्षमुनिको साफ महिला च्याम्पियनशिप : श्रीलंकामाथि नेपालको फराकिलो जित

काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको आफ्नो तेस्रो खेलमा नेपालले श्रीलङ्कालाई हराएको छ । बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा ठूलो वर्षाका कारण निर्धारित समयभन्दा १ घन्टा ढिलो शुरू भएको खेलमा नेपालले श्रीलङ्कालाई ७-० गोलले हरायो ।

नेपालका लागि मीना देउवाले ह्याट्रिक गोल गरिन् । यस्तै पुर्णिमा राईले दुई, समिक्षा मगर र सरिताकुमारी नाथले समान एक गोल गरे । यो जीतसँगै नेपालको तीन खेलमा ६ अङ्क भएको छ । जीतविहीन बनेको श्रीलङ्काले अङ्क जोड्न सकेको छैन । तीन खेलमा ९ अङ्क जोडेको घरेलु टोली बङ्गलादेश तालिकाको शीर्ष स्थानमा छ । दुई खेलमा ३ अङ्कसहित भूटान तेश्रो स्थानमा छ ।

हिजै भएको पहिलो खेलमा बङ्गलादेशले भूटानलाई ४-१ गोलले हरायो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा शुक्रवार भूटानलाई ६-१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको थियो । प्रतियोगितामा नेपाल, बङ्गलादेश, भूटान र श्रीलङ्का गरी चार वटा देश सहभागी छन् । डबल राउन्ड-रोबिनको आधारमा हुने प्रतियोगितामा हरेक टोलीले एकअर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन् । लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । नेपालले अब भोलि श्रीलङ्कासँग, साउन ३ गते भूटानसँग र साउन ५ गते बङ्गलादेशसँग खेल्नेछ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार