न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हरायो

काठमाडौं । जिम्बाब्वेमा जारी त्रिकोणात्मक टि–ट्वान्टी आई सिरिजको दोस्रो खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकामाथि जित हासिल गरेको छ । हरारे स्पोर्टस क्लबमा बुधवार सम्पन्न खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको हो । १ सय ७४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १८.२ ओभरमा १ सय ५२ रनमा समेटियो ।

दक्षिण अफ्रिकाका लागि डिवाल्ड ब्रेभिस १८ बलमा १ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ३५ रनमा आउट भए । जर्ज लिन्डे २० बलमा १ चौका र २ छक्काको सहयोगमा ३० रनमा पेभिलियन फर्किए । लौहान डि प्रिटोरियस १७ बलमा ६ चौकाको सहयोगमा २७ तथा जेरार्ड कोट्जे १७ रनमा आउट भए । न्युजिल्याण्डका लागि जोकेब डफी र म्याट हेनरीले समान ३ तथा इश सोडिले २ विकेट लिए । त्यसअघि हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रनको योगफल तयार गरेको थियो । न्युजिल्याण्डका लागि टिम रोबिन्सनले अविजित रहँदै अर्धशतक बनाए । रोबिन्सनले ५७ बलमा ६ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ७५ रन जोडे ।

टिम साइफर्ट २२ रनमा आउट भए । छैटौं विकेटका लागि रोबिन्सनले बिभोन ज्याकोब्ससँग १ सय ३ रनको शतकीय साझेदारी गरे । ज्याकोब्सले ३० बलमा १ चौका र ३ छक्काको सहयोगमा अविजित ४४ रन बनाएका थिए । दक्षिण अफ्रिकाका लागि क्वाना मफाकाले २ तथा जेरार्ड कोट्जे, सिनुरन मुथुस्वामी र लुंगि एन्गेडीले समान १ विकेट लिए । जितसँगै पहिलो खेलमा जितसँगै लक्षिण अफ्रिकासँग समान २ अंक बनाएको न्युजिल्याण्ड रनरेटमा अघि रहेर शीर्ष स्थानमा छ । पराजित दक्षिण अफ्रिकाको २ खेलबाट २ अंक रहेको छ ।

घरेलु टोली जिम्बाब्व भने अंकबिहिन रहँदै तालिकाको पुछारमा छ । जिम्बाब्वे, दक्षिण अफ्रिका र न्युजिल्याण्ड सहभागी सिरिज डबल राउण्ड रोबिनमा हुनेछ । त्यसपछि शीर्ष २ मा रहने टोलीकाबीचमा फाइनल खेल हुनेछ । त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको तेस्रो खेल शुक्रवार न्युजिल्याण्ड र जिम्बाब्वेको बीचमा रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार