काठमाडौं। इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका आउट अफ फेवर खेलाडी मार्कस रासफोर्ड बार्सिलोना जाने खबर सार्वजनिक भएको छ । २७ वर्षीय रासफोर्डले आफ्नो बाल्यकालको क्लब युनाइटेडका लागि पछिल्लो पटक डिसेम्बर १२ मा खेलेका थिए । त्यसपछि उनी फेब्रुअरीको सुरुआतमा एस्टन भिल्लामा लोनमा गएका थिए ।
स्पेनिस च्याम्पियन बार्सिलोना उनको प्राथमिक गन्तव्य रहँदै आएको बताइएको छ । विशेषगरी युनाइटेडका नयाँ मुख्य प्रशिक्षक रुबेन आमोरिमले उनलाई टिमबाट बाहिर राखेका छन् । ब्रिटेनको प्रेस एसोसिएसनले दिएको जानकारी अनुसार बार्सिलोना र रासफोर्डबीच सिजनभरको लोन डिलको विषयमा वार्ता अगाडि बढिरहेको छ । त्यसमा भविष्यमा स्थायी रूपमा अनुबन्ध गर्ने विकल्प पनि राखिएको छ । रासफोर्ड यस्ता पाँच खेलाडीमध्ये एक हुन् जसले युनाइटेडलाई क्लब छाड्ने चाहना व्यक्त गरिसकेका छन् । क्लबको एकेडेमी हुँदै पहिलो टिममा आएका रासफोर्डले युनाइटेडका लागि ४२६ खेलमा १३८ गोल गरेका छन् ।
इङ्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी रासफोर्डले डिसेम्बरमै नयाँ चुनौतीका लागि तयार रहेको बताएका थिए । उनले गत महिनामात्रै बार्सिलोनाका युवा प्रतिभा लामिन यामालसँग खेल्न चाहेको खुलासा गरेका थिए । रासफोर्ड प्रि–सिजनदेखि नै आमोरिमको पहिलो टोलीबाट टाढै छन् । बार्सिलोनाका स्पोर्टिङ डाइरेक्टर डेकोले मे महिनामा रासफोर्ड मनपर्ने बताएका थिए । मुख्य प्रशिक्षक हान्सी फ्लिकले उनलाई सानदार खेलाडी भनेर तारिफ गरेका थिए ।
अहिले रासफोर्डले युनाइटेडको पहिलो टोलीको जर्सी नम्बरसमेत गुमाइसकेका छन् । ब्राजिलका फरवार्ड माथेउस कुञ्हाले उनको नम्बर १० जर्सी लिएका छन् । उनी हालैका ट्रान्सफरमा लेफ्ट डिफेन्डर डिएगो लिओनसँगै क्लबमा आएका थिए ।