
भोजपुर । हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । प्राकृतिक रूपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गरिएसँगै यो स्थान आकर्षक गन्तव्यका रूपमा स्थापित भएको हो ।
यहाँका पर्यटकीय क्षेत्रलाई समेटेर साढे पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको छ । यहाँको मुख्य पर्यटन क्षेत्रका रूपमा स्थापित गराउने लक्ष्यका साथ पदमार्ग निर्माण गरिएको हतुवागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाएर आर्थिक स्रोत वृद्धि गर्न पदमार्गले टेवा पुर्याउने उनको भनाइ छ ।
‘गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रका रूपमा यो पदमार्गको विकास गरेका छौँ’, प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने, ‘पर्यटनको माध्यमबाट आर्थिक पक्षलाई जोड्ने लक्ष्य छ । यसले गाउँपालिकाको विकासमा टेवा पुर्याउने अपेक्षा लिएका छौँ ।’ यहाँ गाउँपालिकाको गौरवको आयोजनाका रूपमा पदमार्ग निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । दूधकोशीको चुहारमा पक्की पुल बनेपछि धरान, इटहरी, विराटनगरबाट ६५ किमी दूरीमा घोडेटार रहेकाले यहाँ आउने पर्यटकको आवागमन बढ्ने अध्यक्ष राईको भनाइ छ ।
‘यो पदमार्ग गाउँपालिकाको गौरवको आयोजना हो, यो पदमार्गले गाउँपालिकाका मुख्य क्षेत्रलाई समेटेको छ । यसलाई हामीले छोटो दूरीको पदमार्गका रूपमा विकास गरेका छौँ’, अध्यक्ष राईले भने । पदमार्गलाई एक ऐतिहासिक पदमार्गका रूपमा विस्तार गर्ने लक्ष्य लिइएको छ । घोडेटार बजार क्षेत्रबाट नजिक रहेको पदमार्गमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको गाउँपालिकाले जनाएको छ । आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिकाले घारबास (होमस्टे) सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
हरियालीसँगै फाटिँला पहाडका चौरहरूले पर्यटकहरूको मन लोभ्याउने गरेको छ । दक्षिणी क्षेत्रबाट तराई सहर नजिक पर्ने भएकाले दूधकोशी नदीमा पक्की निर्माणपछि यहाँ पर्यटकको सङ्ख्या अझ बढ्ने गाउँपालिकाको भनाइ छ । यहाँ आउने पर्यटकलाई प्राकृतिक दृश्यावलोकन गर्दै दुईचार दिन बिताउन सक्ने गरी पदमार्गलाई व्यवस्थित गरिने गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । किरात राजाहरूले शासन गरेको ऐतिहासिक क्षेत्रमा रहेको यो पदमार्गमार्फत यहाँको विकासमा थप टेवा पुग्ने हतुवागढी–१ का वडाध्यक्ष कुमार विष्टले बताए । यहाँका सम्पूर्ण धार्मिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई समेट्ने गरी योजनाबद्ध विकास भइरहेको वडाध्यक्ष विष्टले बताए ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको यो पदमार्गको प्रचारप्रसारको जोड दिइएको छ । हतुवागढीको सबैभन्दा अग्लो स्थान शङ्खामचुली डाँडा हुँदै पदमार्ग निर्माण भइरहेको यो पदमार्गबाट तराईका फाँट विभिन्न हिमशृङ्खलासँगै सगरमाथा पनि देख्न सकिने स्थानीयको भनाइ छ । शङ्खामचुली डाँडाको उचाइ समुद्री सतहबाट एक हजार ८६५ मिटर उचाइमा छ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम