
काठमाडौं । यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा रोपाइँ १२ प्रतिशतले कम हो ।
देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९७ प्रतिशत रोपाइँ भएको छ भने कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिए । उनका अनुसार मौसमको प्रतिकूलताले असर देखा नपरे साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा करिब ९७ प्रतिशत रोपाइँ सम्पन्न हुँदा एक लाख ७१ हजार हेक्टरमा रोपाइँ भएको सूचना अधिकारी जोशीले उल्लेख गरे । प्रतिशतका हिसाबले यहाँ सबैभन्दा बढी रोपाइँ सम्पन्न भएको छ । उनका अनुसार बागमती प्रदेशमा ८७ प्रतिशत रोपाइँ सम्पन्न हुँदा एक लाख पाँच हजार हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्ष यही अवधिमा करिब ८४ प्रतिशत धान रोपाइँ भएको थियो । मन्त्रालयले आइतबारसम्म सङ्कलन गरेको तथ्याङ्कअनुसार देशका केही भागमा रोपाइँ जारी छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी जोशीका अनुसार धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ । “सो क्षेत्रबाट धानको उत्पादकत्वमा वृद्धि भई कूल उत्पादनको ७० प्रतिशत योगदान छ । पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ”, उनले भने । आव २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो । मौसमको प्रतिकूलता, दैवी प्रकोप, अतिवृष्टि तथा अनावृष्टिले रोपाइँमा नकारात्मक प्रभाव परी कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ । पछिल्लो पटक विकास भएका ज्ञान, सीप, प्रविधि तथा उन्नत जातका बीउ बिजनको विकासका कारण उत्पादन वृद्धि हुने अनुमान छ ।
धान उत्पादनमा करिब १० प्रतिशतले घटबढ भएमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले घटबढ हुने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । यस वर्ष स्वदेशमा उत्पादन हुने अनुमान गरिएको ६० लाख मेट्रिकटन धानबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल बन्ने मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिए।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम