सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा आएको बाढीले ५ घर पूर्णरूपमा क्षति भएको छ । भदौ १५ गते राति थामे खोलाको बग्ने बाटो मोडिएर बस्तीमा प्रवेश गर्दा ५ वटा घर पूर्णरूपमा बगाएको छन् भने ६ वटा घर आंशिक क्षति पुगेको गाउँपालिकाका प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीले जानकारी दिए ।
बाढीका कारण बिजुलीको पोल र वितरण प्रणाली, सञ्चार सेवा लगायतका संरचना समेत अवरुद्ध भएका छन् । तत्कालीन उद्धार तथा राहत कार्यका लागि मानवीय सहयोग आवश्यक रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा हाल अविरल बर्षा भइरहेको कारण यसबाट हुनसक्ने क्षतिको सम्भावना कायमै रहेकाले थामे क्षेत्र लगाएत सम्पुर्ण तटीय क्षेत्रमा रहेका बासिन्दाहरुलाइ सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ । साथै प्रभावित परिवारलाई तत्कालीन सहयोग पुर्याउन समेत आह्वान गरिएको छ ।
