
कञ्चनपुर । भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ । सीमावर्ती क्षेत्रमा सङ्क्रमण पुष्टि भएपछि नेपालमा सचेतनासहित सतर्कता अपनाइएको हो ।
जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले सीमानाकामा पन्छी तथा पन्छीजन्य पदार्थको आयात–निर्यातमा कडाइ गर्नुका साथै सीमावर्ती पालिकाहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्याम खड्काले सीमावर्ती क्षेत्रमा सङ्क्रमण देखिएकाले नेपालमा फैलिन नदिने उद्देश्यले सचेतना अभियान सञ्चालन गर्नुका साथै सतर्कता अपनाइएको बताए ।
उनले भारतसँग सीमा जोडिएका दोधराचाँदनी, बेलौरी, पुनर्वास, भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिमा बर्डफ्लु नियन्त्रण तथा प्रतिबन्धसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिए । ‘भारतीय सीमावर्ती क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएपछि नेपालतर्फ सचेतनामूलक कार्यक्रम गरिरहेका छौँ’, खड्काले भने, ‘सस्तो मूल्य र खुला सीमाका कारण आपूर्ति सहज हुने भएकाले अवैध रूपमा पनि आयात हुने गरेको छ, त्यसले नेपालमा पनि सङ्क्रमणको जोखिम बढाएको छ ।’
सङ्क्रमण फैलिएमा यस क्षेत्रमा पालिएका सबै कुखुरा नष्ट गर्नुपर्ने भएकाले समयमै नियन्त्रणका लागि सचेतना आवश्यक रहेको उनको भनाइ छ । सङ्क्रमण भएमा कुखुरा मर्ने, झोक्य्राउने, चारा नखानेलगायत लक्षण देखिने प्रमुख खड्काले जानकारी दिए । आफूले पालेका कुखुरामा यस्ता लक्षण देखिएमा तत्काल पशु विज्ञ वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा जानकारी गराउन उनले सबै किसानलाई आग्रह गरे ।
यसैबीच, जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले भारतीय कुखुरालाई नेपाल आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मङ्गलबार बसेको बैठकले भारतको उत्तराखण्ड राज्यको बागेश्वर र उधमसिंह नगरमा बर्डफ्लु फैलिएको विभिन्न सञ्चारमाध्यमबाट पुष्टि भएपछि नेपालमा सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउने निर्णय गरेको हो ।
समितिले कञ्चनपुरको पुनर्वास, बेलौरी, बेलडाँडी, दोधाराचाँदनी र भीमदत्त नगरपालिका १, २ र १० को सीमावर्ती क्षेत्रबाट पन्छी तथा पन्छीजन्य सामग्रीको आयात र ओसारपसारलाई पूर्ण रूपमा निषेध गरेको छ ।
निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सबै सुरक्षा निकाय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधि सम्मिलित टोलीले आकस्मिक अनुगमन गर्ने केन्द्रका प्रमुख खड्काले जानकारी दिए ।
उनका अनुसार अनुगमनका क्रममा अवैध रूपमा सामग्री आयात गरेको पाइएमा त्यस्ता सामग्रीलाई कडाइका साथ नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्ने समितिले निर्णय गरेको छ ।













समाचार
ट्रम्पको नयाँ कार्यकारी आदेश: जन्मसिद्ध अमेरिकी नागरिकतामा फेरि अङ्कुश लगाउने प्रयास
मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन
बाल सुरक्षामा मेटालाई ५६७ मिलियन डलर जरिवाना
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उपकार लघुवित्तको नाफा २५२ प्रतिशतले बढ्यो, इपीएस कति ?
भिनिसियसले रियलसँग ६ वर्षको नयाँ सम्झौता गरे
माण्डु हाइड्रोपावरको १ करोड २२ लाख कित्ता सेयरको लकइन अवधि भदौमा सकिंदै
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने, बोलायो साधारणसभा
१८१ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफ, अन्य सूचक कस्ता ?
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह