मुस्ताङको ४७० हेक्टर क्षेत्रफलमा आलुखेती

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा कूल ४७० हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आइरहेको छ । यस वर्ष यहाँका पाँच पालिकामा गरिएका आलु उत्पादनको प्रारम्भिक सर्वेक्षणअनुसार शुन्य दशमलव शुन्य नौ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

आव २०८२/८३ मा यहाँका पाँचै पालिकाको कूल ४७० हेक्टर आलु उत्पादन क्षेत्रमा आठ हजार ४९६ मेट्रिकटन आलु उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख राजेश गुरुङले जानकारी दिए । यसवर्षको आलु उत्पादकत्व १८ दशमलव ४७ प्रति हेक्टर रहने केन्द्र प्रमुख गुरुङले उल्लेख गरे ।

गत आव २०८१/८२ मा यहाँ ४६० हेक्टर क्षेत्रफलमा आठ हजार ४५४ मेट्रिकटन आलु उत्पादन भएको थियो । गत वर्ष आलुको उत्पादकत्व प्रतिहेक्टर १८ दशमलव ३८ प्रतिशत रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । केन्द्र प्रमुख गुरुङका अनुसार गत वर्षको तुलनामा यस वर्ष ४१ दशमलव शुन्य दुई प्रतिशत आलु उत्पादन हुने जनाइएको छ ।
उच्च भूगोल र यहाँको चिसो शीतोष्ण हावापानीमा उत्पादन हुने आलु स्वादिलो र पोषिलो हुने गर्छ । यसैले यहाँको मुस्ताङी आलु सहज÷बजारका उपभोक्ता रुचाउने गर्छन् ।

चिसो हावापानी र हिउँले सिञ्चित यहाँको खेतीयोग्य जमिनमा उत्पादन हुने विषादीरहित जैविक हुने भएकाले उपभोक्ता यहाँको आलुप्रतिको आकर्षण बढ्दो रहेको छ । यहाँ स्याउ बगैँचाभित्र किसानले अन्तरबालीका रुपमा आलुखेती गर्दै आइरहेको पाइन्छ । यहाँ सबैभन्दा बढी उपल्लो मुस्ताङ र बारागुङ मुक्तिक्षेत्रमा उत्पादन हुने आलुलाई थप विशेष महत्व दिने गरिएको छ । समुद्री सतहको दुई हजार ७०० मिटर माथिको क्षेत्रमा उत्पादन हुने भएकाले स्थानीयको आकर्षण उपल्लो मुस्ताङको आलुतर्फ बढेको हो । त्यसो त घरपझोङ र थासाङमा पनि किसानले आलुखेतीलाई विशेष महत्व दिएर खेती गर्दै आइरहेको पाइएको छ ।

मुस्ताङको तल्लो क्षेत्रमा किसानले फागुनमा आलुको बीउ रोपेर भदौ महिनामा आलु निकाल्न थाल्छन् । उपल्लो मुस्ताङमा चैत/वैशाखमा आलुको बीउ रोपेर असोज/कात्तिकमा खेतबारीबाट आलु खन्न सुरु गर्छन् । नगदेबाली भएको र सडक यातायातको सजह पहुँच भइसकेकाले यहाँ उत्पादित आलुको बजारीकरणमा कुनै समस्या नरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यहाँ विकासे आलु र स्थानीय परम्परागत लोकल सेतो आलु उत्पादन हुने गरेको केन्द्र प्रमुख गुरुङको भनाइ छ । यहाँ विकास रातो आलु आंशिक उत्पादन हुने गरे पनि यहाँका किसानले बढीमात्रामा स्थानीय सेतो आलुको खेती गर्ने गरेको गुरुङले उल्लेख गरे । यहाँ उत्पादन हुने आलु ६० प्रतिशत जिल्ला बाहिर निकासी हुने गरेको केन्द्रले बताएको छ । बाँकी ३० प्रतिशत आलु यही घरायसी प्रयोजन तथा होटल रेष्टुरेन्टमा खपत हुने र उत्पादित १० प्रतिशत आलुको बीउका रुपमा स्थानीय किसानले बिक्रीवितरण गर्ने गरेको केन्द्र प्रमुख गुरुङले बताए ।

घरपझोङ–५ ठिनीका किसान महेन्द्र थकालीले यहाँ किसानले उत्पादन गर्ने आलु सहजै बिक्री हुने गरेको बताए । उनले प्रतिपाथी यहाँको आलु रु २०० मा बिक्री भएको उल्लेख गरे । ‘आलु उत्पादन गरेर हाभेस्ट मात्रै गरेपछि आलु व्यापारी किसानको खेतमै पुगेर सङ्कलन गर्ने गरेका छन्’, उनले भने, ‘पैसा नगद पाइने र आलु खनेपछि बजार पुर्‍याउनुपर्ने समस्या छैन।’ उनले मुस्ताङमा उत्पादन हुने आलु पोखरा–काठमाडौंलगायत सहरको तारे होटलसम्म पुग्ने गरेको जानकारी दिए ।

आलुखेती गर्दै आइरहेका कृषि समूह, सहकारी र फर्मलाई यहाँका स्थानीय तह, कृषि ज्ञान केन्द्र तथा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले विभिन्न अनुदानका कार्यक्रम सञ्चालनमा ल्याउने गरिएको छ । यसबाट पनि यहाँका किसान स्याउखेती जस्तै आलुखेतीमा लाभान्वित हुँदै आइरहेको पाइएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार