काठमाडौं । भारतले एसीसी टी–२० एसिया कपमा पाकिस्तानलाई सहज रुपमा हराएको छ । भारतले पाकिस्तानमाथि ७ विकेटको जित निकालेको हो ।
जितका लागि पाएको १२८ रनको लक्ष्य भारतले १५.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतका कप्तान सूर्यकुमार यादव सर्वाधिक ४७ तथा शिबम दुबे १० रनमा अविजित रहे । भारतका ओपनर अभिषेक शर्मा ३१, शुभमन गिल १० रनमा आउट भए । त्यस्तै तिलक बर्मा ३१ रनमा आउट भए । पाकिस्तानका सैम अयुबले ३ विकेट लिए ।
त्यसअघि दुबई क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । पाकिस्तानका ओपनर सहिबजादा फहरानले सर्वाधिक ४० रन बनाए । शाहिन शाह अफ्रिदीले तल्लोक्रममा अविजित ३३ रन बनाउँदै पाकिस्तानको साख जोगाए । फखर जमानले १७ रन बनाउँदा अन्यको प्रदर्शन सम्झन लायक थिएन ।
ओपनर सैम अयुब डक, मोहम्मद नवाज डक, फहिम अशरफ ११, सुफ्यान मकीम १०, मोहम्मद हरिस र सलमान अली अघा ३÷३ रनमा आउट भए । भारतका लागि स्पिनर कुलदीप यादवले सर्वाधिक ३ विकेट लिए । स्पिनर अक्षर पटेल र जस्प्रित बुमराहले २÷२ विकेट लिए । हार्दिक पाण्ड्या र बरुण चक्रवर्तीले १–१ विकेट लिए ।
भारत समूह ए मा ४ अंकका साथ शीर्ष स्थानमा छ । पहिलो खेलमा युएईलाई ९ विकेटले हराएको भारतले आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार ओमानसँग खेल्नेछ । पाकिस्तान २ खेलमा १ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा ओमानलाई ९३ रनले हराएको पाकिस्तानले अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ । पाकिस्तानलाई सुपर फोरमा पुग्न उक्त खेल पाकिस्तानले जित्नै पर्ने हुन्छ ।