
म्याग्दी । मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबिचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरुद्ध भएपछि नेपाली व्यापारीहरूले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न थालेका हुन् । विसं २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका बासिन्दाका लागि मात्र सञ्चालन भएको कोराला नाका दुई वर्षपछि व्यापारिक रूपमा सञ्चालन हुन थालेको हो ।
भारत र चीनका सामान आयात निर्यातका साथै नेपालमा उत्पादन भएको सामान बजारीकरणका लागि कालीगण्डकी कोरिडोर र कोरला नाकाले धौलागिरि क्षेत्रमा व्यापार व्यवसायको नयाँ अवसर सिर्जना गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । बेनी, जोमसोम हुँदै कोराला नाकामा करिब तीन सय कन्टेनर पुगेका र थप एक हजार पाँच सय कन्टेनर दसैँको सामान लिन कोराला जाने क्रममा रहेको उनले बताए । “कोराला नाका सञ्चालन हुन थालेपछि मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र कास्कीका व्यवसायीहरू उत्साही भएका छौँ”, उनले भने, “गण्डकी र लुम्बिनी प्रदेशका लागि कोरालाबाट सामान ल्याउँदा सस्तो पर्छ ।”
कोराला नाकामा रहेको भन्सार कार्यालयका अधिकृत रमेश खड्काले दसैँका लागि नेपाली व्यापारीले चीनमा किनेका सामानहरू बोकेका कन्टेनरहरू रसुवा र तातोपानी नाका बन्द भएपछि डाइभर्ट भएर कोरालामा आएका बताए ।
समुन्द्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको कोराला नाकामा प्रदेश सरकारले गतवर्ष बनाएको भवनमा पूर्वाधार निर्माण, इन्टरनेट र विद्युत् जडान गरेर भन्सार सञ्चालन गरिएको प्रमुख खड्काले बताए । नाकामार्फत चीनबाट एक सय ५१ वटा विद्युतीय गाडी आयात भएका छन् ।
नेपालबाट भने मूर्ति, कपडा र बाँसका मुढा चीनतर्फ निकासी भएका छन् । दसैँका लागि कपडाजन्य सामान बोकेका ५५ वटा चिनियाँ कन्टेनर कोरला नाकामा आएका छन् । थप कन्टेनर आउने क्रम जारी छ । रसुवा नाका गत असार २४ गते आएको बाढी र पहिरोका कारण बन्द छ । सिन्धुपाल्चोकको कोदारीमा सडक मर्मतमा ढिलाइ हुँदा तातोपानी नाका हुँदै चीनबाट नेपालतर्फ आउने सामान करिब ४६ दिनदेखि रोकिएको छ । दसैँको मुखमा कच्चापदार्थ र तयारी सामान नपाउँदा समस्यामा परेका उद्योगी र व्यापारीहरूलाई कोराला नाका सञ्चालन भएपछि राहत मिलेको छ ।













समाचार
एनपीएल २०२६ को मिति घोषणा, कात्तिक ९ देखि सुरु हुने
ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी
ग्यासमा कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ
बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह
ढोरपाटन सिकार आरक्षमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
पाटन बारका तीन समूहबिच प्रतिस्पर्धा हुँदै
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
जुम्लामा ४८ करोड राजस्व सङ्कलन
सुर्खेतमा सामुदायिक वनमा लुकाइराखेको तीन थान भरुवा बन्दुक बरामद
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण