१० खेलाडीका बाबजुद रियलको विजयी सुरुवात

काठमाडौं । रियल म्याड्रिडले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । १० खेलाडीमा सिमित रहेर खेल अन्त्य गरेको रियलले मार्सेलाई २–१ ले हराएको हो ।

पछि परेको खेलमा प्राप्त २ पेनाल्टीलाई केलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई जित दिलाए । खेलको तेस्रो मिनेटमै ट्रेन्ट एलेक्जान्डर–अर्नोल्ड ह्यामस्ट्रिङ चोटका कारण बाहिरिँदा रियल समस्यामा परेको थियो । त्यसपछि उनको स्थानमा आएका डानी कार्भाहालले ७२औँ मिनेटमा गोलकिपर जेरोनिमो रुलीसँग झगडा गर्दा रातो कार्ड खाएपछि रियल १० खेलाडीमा सिमित भयो ।

२२औँ मिनेटमा टिमोथी वेहाले मार्सेलाई अग्रता दिलाए । मेसन ग्रिनवुडले बल खोसेर दिएको बलमा वेहाले गरेको शक्तिशाली प्रहार थिबो कोर्टोइसले रोक्न सकेनन् । तर, ६ मिनेटमै जेफ्री कन्डोग्बियाले रोड्रिगोलाई लडाएपछि रियलले पाएको पेनाल्टीमा एम्बाप्पेले गोल गर्दै बराबरी गरे ।

मार्सेका पिएर–एमरिक ओबामेयाङले दुई पटक अग्रता लिन मौका पाए । तर पहिलो प्रहार बाहिरियो र दोस्रो प्रहार कोर्टोइसले बचाए । १० खेलाडी भएपनि रियलले आक्रमण जारी राख्यो। अन्ततः भिनिसियस जुनियरलाई रोक्ने क्रममा मार्सेका फाकुन्डो मेडिनाको ह्यान्ड बल भएपछि ८१ औं मिनेटमा रियलले दोस्रो पेनाल्टी पायो । त्यसलाई पनि एम्बाप्पेले गोलमा परिणत गर्दै रियललाई जित दिलाए।

यो जितसँगै १५ पटकको युरोपियन च्याम्पियन रियलले यसपटक उत्कृष्ट सुरुवात गरेको छ । प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा रियल गत सिजनको कमजोर प्रदर्शन सुधार्ने लक्ष्यमा छ । गत सिजन ११ औं स्थानमा रहेर प्ले अफ खेलेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार