
काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडा दशैँको छैटौँ दिन आज कात्यायिनी भगवतीको पूजा, अर्चना गरिदै छ । नवरात्रीको छैटौँ दिन अष्टमातृका भगवतीको छैठौँ शक्तिका रुपमा कात्यायिनी भगवतीको पूजाअर्चना गर्ने परम्परा रहेको छ । आजको दिनमा कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुख,दरिद्र जस्ता संकट नाश भई मानिस प्रगतिपथमा अगाडि बढ्ने धार्मिक विश्वास रहेको पाइन्छ ।
माता कात्यायनी अमोघ फलदायनी हुन् । भगवान् कृष्णलाई पतिका रूपमा पाउनको लागि व्रजका गोपिनीहरूले यिनै कात्यायनी देवीको पूजा कालिन्दी– यमुनाको तिरमा गरेका थिए । यिनी व्रजमण्डलकी अधिष्ठात्री देवीको रूपमा प्रतिष्ठित छिन् । यिनको रूप अत्यन्त नै भव्य र दिव्य छ । यिनको वर्ण स्वर्णसमान चम्किलो तथा भास्वर छ । यिनी चतुर्भूज रूप धारिणी छिन् । दाहिनेतर्फको माथिल्लो हात अभय मुद्रामा छ तथा तल्लो हात वरमुद्रामा छ । देब्रेतर्फको माथिल्लो हातमा तरबार छ भने तल्लो हातमा कमल पुष्प सुशोभित छ ।
दुर्गा पूजाको नवरात्रिको छैठौं दिनमा साधकले माता कात्यायनीको चरणमा आफ्नो सर्वस्व निवेदित गरिदिनु पर्दछ । परिपूर्ण आत्मदान गर्ने भक्तले सहज भावले माता कात्यायनीको दर्शन प्राप्त गर्न सफल हुन्छन् । माता कात्यायनीको भक्ति र उपासनाद्वारा मानिसले सहजताका साथ अर्थ, धर्म, काम र मोक्षजस्ता चारवटै फलहरूको प्राप्ति गर्न सक्दछ । ऊ यसै लोकमा स्थित रहेर पनि अलौकिक तेज र प्रभायुक्त हुन पुग्दछ । उसका रोग, शोक, भोक, सन्ताप, भय आदि सर्वथा विनष्ट भएर जान्छन् । भन्ने धार्मिक विश्वास छ ।
काठमाडौं उपत्यका भित्रका गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ । दसैँमा नौ दिनसम्म शक्तिपीठ तथा दसैँघरमा पूजा अर्चना सहित दूर्गा भगवतीको पूजा आराधाना गर्ने गरिन्छ ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय